संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाउने पूर्वमन्त्रीको दाबी

संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाउने पूर्वमन्त्रीको दाबी

‘दुई तिहाइ मत ल्याएर यो देशलाई संवैधानिक राजतन्त्र र हिन्दुराज्य बनाउँछौ भन्न बहुदलमा पाउने कि नपाउने ?, हामीलाई किन निर्वाचन आयोेगले तगारो राख्छ ?, ’ यो प्रश्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हरिबहादुर बस्नेतले राखेका छन् । उदयपुरको गाईघाट बोक्सेमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले उक्त धारणा व्यक्त गरेका हुन् ।

बस्नेतले नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने र राजतन्त्र हटाउने काम नेपालीले नभएर युरोपेली युनियनले गरेको दाबीसमेत गरेका छन् । एमसीसी पास नगर्दा मुलुकको अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु युक्तिसंगत नभएको उनले बताए ।

अहिले शासन गर्ने राजा नभएर संरक्षक वा आस्थाको रूपमा राखिने राजा राप्रपाले चाहेको बस्नेतको भनाइ छ । पूर्वमन्त्री बस्नेतले एकथरिले एमसीसी पास गर्दा र अर्को थरिले नगर्दा राष्ट्रवादी हुने भन्ने कुरो गर्नु नै काइते भएकाले जनताको काम गरेर राष्ट्रवादी हुनुपर्नेमा आफ्नो अडान रहेको बताएका छन् ।

अरू पार्टीमा देखिएको सर्वसम्मत चयन प्रक्रियालाई व्यंग्य गर्दै अहिले सबैभन्दा प्रजातान्त्रिक पार्टीको रूपमा राप्रपा देखिएको बस्नेतको दाबी छ । उनी आगामी संघीय निर्वाचनमा १ नम्बर क्षेत्रबाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् ।

टिप्पणीहरू