इन्धनको भाउ बढेपछि यातायात मजदुर भड्किए
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले इन्धनको मूल्य बढाउने निर्णय फिर्ता लिन माग गरेको छ । श्रमजीवी जनतालाई मार पर्नेगरि इन्धनमा पटक-पटक भाउ बढाईएको भन्दै संगठनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो ।
संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले विज्ञप्ति जारी गर्दै आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसंग माग गरेका हुन् ।
‘आयल निगमभित्र हुने चुहावटलाई रोक्दै आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाउनुको सट्टा घाटाको सम्पूर्ण भार जनतामाथि थोपर्ने गरि गरिएको जनविरोधी निर्णय सच्याउँन सरकारलाई आग्रह गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।
निगमलाई व्यवस्थित गर्दै सुदृढिकरण गर्नुपर्नेमा जनतामारा निर्णय गरिएको भन्दै विज्ञप्तिमा मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनको सामना सरकारलाई चेतावनी दिइएको छ ।
नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुनेगरि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रतिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ पुगेको छ । बढाइएको मूल्य हालसम्मकै उच्च भएको बताइएको छ ।

टिप्पणीहरू