प्रधानमन्त्रीले माग्नुभयो एमसीसी संशोधनका बुँदा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गर्नुभएको छ ।
आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गर्नुभएको हो ।
छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गर्नुभएको बताइएको छ ।
‘एमसीसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो ।
देशको हितमा हुने कुरामा असहमति रहने कुरा नभएको तर, बाँकी कुराहरु संशोधन गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उहाँले एमसिसी हुबहु पास गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई भन्ने गरेको पनि खुलाउनुभयो । ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उहाँले सुनाउनुभयो ।
अध्यक्ष नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको भन्दै कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने समेत प्रष्ट पार्नुभयो ।
टिप्पणीहरू