जग्गा हड्पेर जनप्रतिनिधिद्वारा फार्मेसी सञ्चालन !
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी मंगलबारेको मूल गेटमै अवस्थित छ,सेवा मेडिकल हल । अत्यन्तै साँघुरो घुम्तिमा फार्मेसी रहनु मापदण्डविपरीत त छँदैछ । पसल रहेको भूमिसमेत अर्कैको हड्पेर एकजना जनप्रतिनिधिले फार्मेसी सञ्चालन गरिरहेको पाइएको आरोप छ ।
उर्लाबारी नगरपालिका ३ का वार्ड सदस्य सोमप्रसाद तिमिल्सिनाले स्थानीय बालादेवी गौतमको घडेरी कब्जामा लिएर फार्मेसी चलाइरहेका हुन् । बालादेवीका देवर चन्द्रप्रसाद गौतमका अनुसार २०७४ सालमा घुम्ती निर्माण गरी केही समय आफैंले फार्मेसी चलाएको र पछि मासिक तीन हजार बुझाउने शर्तमा एकजना आफन्तलाई पसल जिम्मा दिइएको हो ।
आँखा र पित्तथैलीमा समस्या भएपछि उपचारार्थ लामो समय आफू काठमाडौंमा रहँदा कुनै बेला आफ्नै पसलका कामदार तिम्सिनाले अनेक षड्यन्त्र गरेर करिब दुई धुर जग्गासहितको घुम्ती पसल हड्पेको गौतमको आरोप छ ।
“आँखा र पित्तथैलीमा समस्या भएपछि उपचारार्थ लामो समय आफू काठमाडौंमा रहँदा कुनै बेला आफ्नै पसलका कामदार तिम्सिनाले अनेक षड्यन्त्र गरेर करिब दुई धुर जग्गासहितको घुम्ती पसल हड्पेको गौतमको आरोप छ ।”
बञ्जारा थरका नातेदारलाई पसल चलाउन दिएको थिएँ,गौतमले भने–‘उनले राम्रोसँग चलाउन नसकेपछि तिम्सिनालाई मासिक दुई हजार तिर्ने शर्तमा फार्मेसी दिएका थियौं । तर,उनले पेलेरै जबर्जस्ती गरे । पछि आफ्नो घुम्ती पसल फालेर फरक संरचना बनाई तिम्सिनाले मेडिकल हल तयार पारेकोसमेत गौतमको आरोप छ ।
पूर्व–पश्चिम राजमार्गको १ सय ५ मीटरभित्र पक्की संरचना बनाउन नपाइने नियम भएकाले न्यायको लडाइँ लड्दा त्यो भोगाधिकार नपाइने हो कि भन्ने लागेको गौतम बताउँछन् । ‘जमिन त मेरै परिवारको नम्बरी हो,तर सहमतिमा आएर तिम्सिनाले कि बहाल तिर्नुपर्यो,कि हट्नु पर्यो,’ उनले भने ।
अरुको संरचना भत्काई जबर्जस्ती जमिन हड्पिने तिमिल्सिनाको पसल हटाउन पहल गरिदिन पनि उनले सबैमा आग्रह गरेका छन् । यस विषयमा बुझ्न खोज्दा तिम्सिनासँग सम्पर्क हुन सकेन ।
पूर्वी मोरङकै ठूलो स्वास्थ्य संस्था मदन भण्डारी अस्पतालमा चरम बेथिति देखिएको छ । अस्पतालको मूलगेटमै सुँगुरको खोरजत्रो जमिनमा फार्मेसी चलाएका तिम्सिनाको अस्पतालमा हालिमुहाली छ ।
नेपाल सरकारबाट नागरिकले निःशुल्क पाउने औषधिहरु अस्पतालको फार्मेसीमा बिरलै पाइन्छन् तर तिम्सिनाको फार्मेसीमा सहजै खरिद गर्न पाइन्छ ।
यसो हुनुका पछि अस्पतालका सञ्चालक र कर्मचारीको तिम्सिनासँग सेटिङ भएको नाम नबताउने शर्तमा एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार अस्पतालको फार्मेसीमा कृत्रिम अभाव सृजना गरिदिएपछि सेवाग्राही दबाई किन्न मूलगेटमै रहेको सेवा मेडिकल हलमै पुग्ने हुन् । जुन तिम्सिनाले बाला गौतमबाट हड्पिएका हुन् ।
नगरपालिकाको वार्ड सदस्य भएको फाइदा उठाउँदै तिमिल्सिनाले अस्पतालका हरेक गतिविधिमा आफूलाई समाहित गराउँदै आएको पनि बुझिएको छ । अस्पताल प्रशासनसँगको मिलिभगतमा उनले दुई दुई वटा फार्मेसी चलाएका छन् । सेवा मेडिकल र नतुल फार्मेसी चलाएका उनले अरु औषधि व्यवसायीलाई टिक्नखान नदिन अनेक षड्यन्त्र गरिरहने भुक्तभोगीहरु बताउँछन् । उनकै कारण दुई जनाले फार्मेसी पसल नै बन्द गरेको पाइएको छ ।
टिप्पणीहरू