भारतका सबैभन्दा बृध्दलाई उच्च सम्मान

भारतका सबैभन्दा बृध्दलाई उच्च सम्मान

भारत सरकारले काशी,बनारसका १ सय २६ वर्षीय शिवानन्द बाबालाई त्यहाँको चौथो नागरिक सम्मानको घोषणा गरेको छ । भारतले सबैभन्दा बृध्द व्यक्तिसमेत रहेको दाबी गरेका उनलाई पद्यमश्री सम्मानको घोषणा गरेको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शिवानन्द बाबाको आधार कार्ड र पासपोर्टमा जन्म मिति ८ अगस्ट १८९६ रहेको छ । जसअनुसार उनी संसारको सबैभन्दा बृध्द व्यक्ति मानिन्छन् । तर यो कीर्तिमान गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा जापानका चितेत्सु वातानाबेको नाममा दर्ता छ ।

वाराणसीको कबीर नगर क्षेत्रमा बस्दै आएका उनी यस उमेरमा पनि निकै स्वस्थ देखिन्छन् । बिहान ३ बजे उठ्छन् । त्यसपछि नुहाई धुवाई गरेर योगा गर्न थाल्छन् । डेढ घण्टासम्म योगा गरिसकेपछि भजन किर्तनमा लाग्ने बानी छ ।

उनले सँधै शुध्द शाकाहारी खाना खाएकाले आफू पूर्णरुपमा स्वस्थ भएको बताए । फलफूल र दूधसमेत नखाने तर उमालेको खानेकुरा मात्रै खाने गरेको उनको भनाइ छ ।

पद्मश्री अवार्ड पाउँदा खुशी लागेको भन्दै उनले मोदी सरकारप्रति आभार व्यक्त गरेका छन् । अहिले पद्मश्री पुरस्कार पाएको घोषणापछि शिवानन्द बाबा फेरि चर्चामा आएका छन् ।

यसक्रममा उनका केही तस्बिर तथा भिडियोसमेत भाइरल भइरहेका छन् ।

टिप्पणीहरू