आतंकवादीको पैसा नेपाल भित्रन लागेको हो र ?
डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावटका घटनाहरू बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले ठूला कारोबारीहरुको सम्पत्ति विवरण मागेको छ । कारोबारको स्रोत पहिचानका लागि राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै एक पटकमा ७ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेहरुको सम्पत्ति स्रोत विवरण बुझाउन भनेको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले वाणिज्य बैंकहरुलाई आज पठाएको पत्रमा साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउन भनिएको हो ।
तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी रुपैयाँ नगदमा भएका कारोबारको विवरण माग गरिएको छ । त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ । राष्ट्र बैंकअन्तर्गत बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको थियो ।
‘जायज कुरामा पनि बोल्न डराउँछन् भने संघको नेतृत्वसँग के आश गर्ने ?’
ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर,प्रयोग भएको डेबिट/क्रेडिट कार्ड,कारोबार रकम, कारोबार भएको मिति,कारोबार गर्ने/गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ । यसअघि १० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेकाको विवरण मात्र राष्ट्र बैंकले माग्ने गरेको थियो ।
आजको सर्कुलरप्रति अधिकांश बैंकरले आपत्ति जनाएका छन् । बैंकर्स संघका पदाधिकारीहरुले भने यसबारे बोल्न चाहेनन् । राष्ट्र बैंक रिसाउने नाममा संघका पदाधिकारीले पुच्छर लुकाएको एउटा बैंकका प्रमुख कार्यकारी अधिकृतले आक्रोश पोखे । उनले भने, ‘जायज कुरामा पनि बोल्न डराउँछन् भने संघको नेतृत्वसँग के आश गर्ने ?’
आजको केन्द्रीय बैंकको सर्कुलरले बजारमा आतंक मच्चाएको उनले स्वीकारे । तोकिएको १० लाख रुपैयाँ नगद कारोबार गर्नेको सीमा घटाएर सात लाख रुपैयाँमा झार्ने निर्णयले बजारमा थप नगद तरलताको अभाव हुने उनले जनआस्थासँगको कुराकानीमा बताए । ‘केन्द्रीय बैंकले कलम चोप्दा त्यसको असर कहाँसम्म पर्छ भनेर अध्ययन नगर्ने टोलीको बाहुल्य भएपछि अहिले बैंकिङ क्षेत्र र व्यवसायीहरु हायलकायल भएका छन्,’ उनले भने ।
आतंककारी आर्थिक क्रियाकलाप नियन्त्रणको नाममा बैंक सुपरीवेक्षण विभागले ७ लाखभन्दा बढीको नगद कारोबारको प्रवृत्ति थाहा पाउन बैंकहरुसँग उक्त जानकारी मागेको विभाग स्रोतले बताएको छ । बैंकका ग्राहकलाई कारवाही गर्ने वा अन्य प्रयोजनको लागि आजको सर्कुलर नगरिएको केन्द्रीय बैंक स्रोतले दाबी गरेको छ ।
विद्यमान मुद्रा शुध्दिकरणको नियमानुसार प्रत्येक बैंकले १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबारको विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाइने गरिएको छ ।
टिप्पणीहरू