स्वास्थ्यमन्त्रीलाई डा. केसीको पत्र : गुण्डागर्दी शैलीमा पैसा उठाइयो

स्वास्थ्यमन्त्रीलाई डा. केसीको पत्र : गुण्डागर्दी शैलीमा पैसा उठाइयो

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालकहरुमाथि कारवाहीको माग गरेका छन् । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई पत्र लेख्दै उनले दुबै कलेजले विद्यार्थीसँग अवैधरुपमा अतिरिक्त रकम असुलिरहेकाले कारवाहीको दायारामा ल्याउन माग गरेका हुन् ।

डा. केसीले नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई आपराधिक पृष्ठभूमिका व्यक्ति भनेका छन् । उनीहरुले विद्यार्थीमाथि गुण्डागर्दीको शैलीमा जबर्जस्ती रकम असुल्ने प्रयास गरिरहेको उनको आरोप आरोप छ ।‘अपराधिक पृष्ठभूमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजसहित अन्य त्यस्ता कलेजमा विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शुल्क उठाउने प्रयास अहिले पनि जारी छ’, मन्त्री खतिवडालाई लेखिएको पत्रमा भनिएको छ, ‘आन्दोलनरत विद्यार्थीको भविष्य अहिले पनि अन्योलमा छ ।

चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी रहेकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।’

सात बुँदे मागपत्रमा मेडिकल संस्थाहरुलाई मापदण्डमा ल्याउन र पूर्वाधार र पर्याप्त जनशक्ति बिना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेकाले त्यसको अनुगमन गर्न मन्त्रीको ध्यानाकर्षण गराइएको छ । त्यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गरिएको छ ।

जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न उनको जोड छ । मुलुकभर स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पनि भनिएको छ । सरकारी अस्पतालहरुको सेवा शुल्क निजी अस्पतालको जतिनै भएकाले यसलाई निःशुल्क गर्न उनले आग्रह गरेका छन् ।

डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयनको माग पनि गरेका छन् ।

टिप्पणीहरू