के हुन्छ एमसीसी,कस्तो हुन्छ चुनावी तालमेल ?
एमसीसी विवादले सत्ता गठबन्धनमा मडारिएको कालो बादल बिस्तारै खुल्न थालेको छ । अघिल्लो साता गठबन्धन तोडेर भएपनि एमसीसी पास गर्न मसक्क आँटेर लाग्नुभएका प्रधानमन्त्री र कांग्रेस नेताहरु ‘रिश्क नमोल्ने’ निश्कर्षमा पुगेपछि गठबन्धनमाथिको संकट हालका लागि टरेको हो ।
प्रधानमन्त्री देउवाले माओवादी र एकीकृत समाजवादीका नेताहरुसँग गठबन्धनको निरन्तरताका लागि एमसीसी पास गर्नुपर्ने शर्त राखेको चर्चाले अघिल्लो साता राष्ट्रिय राजनीति तरंगित भएको थियो । त्यसैका आधारमा कतिपय नेताले गठबन्धन टुट्न सक्ने आशयका अभिव्यक्तिसमेत दिएका थिए ।
अस्तिसम्म आइपुग्दा स्वयं प्रधानमन्त्री देउवा र कांग्रेसका शीर्ष नेताहरु एमसीसीमा अत्तो थापेर गठबन्धन तोडे कांग्रेसकै लागि प्रतुत्पादक हुने निश्कर्षमा पुगेपछि परिस्थिति फेरिएको बताइन्छ ।
“एमसीसी यसै पास गर्नुपर्छ भन्ने पक्षमा आफू पनि नभएको तर अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाउन थालेकाले प्रक्रियामा लगेर एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा आफू रहेको उहाँको भनाइ थियो ।”
अस्ति बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंगको छलफलमा एमसीसीलाई शर्त बनाएर गठबन्धनमा खटपट आउन नदिने प्रधानमन्त्रीको प्रतिवध्दतापछि परिस्थिति बदलिएको हो । तीन नेताको भेटबारे जानकार स्रोतका अनुसार छलफलमा प्रधानमन्त्रीले एमसीसीबारे अरु दिनभन्दा खुलेर कुरा राख्नुभएको थियो ।
जनतामा यत्रो बहस भैसकेपछि एमसीसी यसै पास गर्नुपर्छ भन्ने पक्षमा आफू पनि नभएको तर अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाउन थालेकाले प्रक्रियामा लगेर एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा आफू रहेको उहाँको भनाइ थियो ।
;काँग्रेस उदार अर्थतन्त्रको नीति लिएको पार्टी भएकाले कम्युनिष्टहरुलाई जस्तो सजिलो नभएको प्रधानमन्त्रीको भनाइ स्रोतले सुनायो । “
वैचारिक हिसाबले अन्तराष्ट्रिय समुदायले काँग्रेसमाथि नै प्रश्न गर्ने भएकाले पनि आफ्नो बाध्यता बुझिदिन प्रचण्ड र माधवलाई देउवाले आग्रह गर्नुभएको स्रोत बताउँछ । ‘डेमोक्रेटिक प्रोसेसबाट जाऊँ,बरु त्यहिँ फेल भए होस् । त्यसो हुँदा आफूलाई डेमोक्र्याटिक भन्ने अमेरिकालाई पनि जवाफ दिन सकिन्छ । तर,यसरी अड्काएर राख्दा काँग्रेसलाई धेरै नै दबाब पर्यो’, देउवाले दुई नेतालाई भन्नुभएको थियो ।
काँग्रेस उदार अर्थतन्त्रको नीति लिएको पार्टी भएकाले कम्युनिष्टहरुलाई जस्तो सजिलो नभएको प्रधानमन्त्रीको भनाइ स्रोतले सुनायो । बताइएअनुसार अस्तिको बैठकमा प्रचण्ड र माधव नेपालले एमालेसँग मिलेर एमसीसी पास गर्ने बाहिरी चर्चाबारे प्रधानमन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो । सेकेन्ड जेनेरेसनमा कुरा भएको हुनसक्ने तर, एमालेसँग आफूले कुनै पनि छलफल नगरेको प्रधानमन्त्रीको जवाफ थियो ।
त्यसो त रामचन्द्र पौडेलसहित देउवा निकट नेताहरुकै कारण प्रधानमन्त्रीले एमसीसीमा जबर्जस्ती गर्न नसकेको पनि भनिन्छ । बताइएअनुसार एमाले अध्यक्ष केपी ओलीलाई साथ लिएर एमसीसी अघि बढाउने देउवाको अग्रसरता बुझेपछि पौडेल,पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्कीलगायतका नेताहरुले रोकेका हुन् । ओलीजस्तो अविश्वासिलो पात्रलाई साथ लिएर एमसीसी पास नहुने भन्दै उनीहरुले गठबन्धनमै कुरा मिलाएर अघि बढ्न भनेपछि देउवा पछि हट्नुभएको बताइन्छ ।
‘सत्ताका लागि आफैंले एकता गरेको पार्टी फोड्ने मान्छेको भर परेर हुँदैन भन्नेमा कांग्रेसका नेताहरु प्रष्टै छन् । एमसीसी पास होस् र गठबन्धन पनि जोगियोस् भन्ने मनोविज्ञान उनीहरुमा देखिन्छ’,
‘सत्ताका लागि आफैंले एकता गरेको पार्टी फोड्ने मान्छेको भर परेर हुँदैन भन्नेमा कांग्रेसका नेताहरु प्रष्टै छन् । एमसीसी पास होस् र गठबन्धन पनि जोगियोस् भन्ने मनोविज्ञान उनीहरुमा देखिन्छ’,गठबन्धनका बैठकहरुमा सहभागी हुँदै आएका वाम खेमाका एक नेताले भने ।
यहि पृष्ठभूमिमा अस्ति दिउँसो साढे चारदेखि पौने छ बजेसम्म प्रधानमन्त्री देउवा,गृहमन्त्री बालकृष्ण खाँण, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,कानुनमन्त्री दिलेन्द्र बडू,कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललगायतका नेताहरुले छलफल गरेका थिए । छलफलका विषय र निर्णयबारे कुनै जानकारी दिइएको छैन,तर एमसीसीबारे नै छलफल भएको स्रोतको दाबी छ । त्यहाँ सहभागी नेताहरुले एमसीसी पास गर्नुपर्ने तर गठबन्धन तोड्न नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
यता,पछिल्ला दिनहरुमा एमसीसीको सवाल पेचिलो बन्दै आएपछि माओवादी र एकीकृत समाजवादीका नेताहरु पनि कडा धारणा राख्न थालेका छन् । पाँचदलीय गठबन्धनबाट सबैभन्दा बढी लाभ लिएको काँग्रेस आफैँ गठबन्धनप्रति बढी जवाफदेही हुनुपर्नेमा अरु दललाई मात्र गठबन्धन चाहिएको जसरी प्रस्तुत भएकोमा उनीहरुको असन्तुष्टि छ ।
“पौने तीनदेखि पौने पाँचसम्म दुई घण्टा छलफलमा नेताहरुले यथास्थितिमा एमसीसी पास गर्न नदिने र त्यसैका कारण काँग्रेसले गठबन्धन तोडे उसैलाई घाटा हुने निश्कर्ष निकाले ।”
‘कांग्रेसले गठबन्धन तोड्नै चाहेको हो भने तोडे हुन्छ,हामीलाई मात्र गठबन्धन चाहिएजस्तो गरेर प्रचार गर्नु आवश्यक छैन’, गठबन्धनका पछिल्ला छलफलहरुमा भनेका कुरा उद्धृत गर्दै एक नेता भन्छन्, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । हामीले पनि सधैंभरि कांग्रेसलाई लिएर मात्र राजनीति गर्छौँ भनेका छैनौँ ।’
यता,अस्ति दिउँसो वामतिरका केही नेताले पनि प्रेसिडेन्टल कलेजमा छलफल गरेका थिए । पौने तीनदेखि पौने पाँचसम्म दुई घण्टा छलफलमा नेताहरुले यथास्थितिमा एमसीसी पास गर्न नदिने र त्यसैका कारण काँग्रेसले गठबन्धन तोडे उसैलाई घाटा हुने निश्कर्ष निकाले । जानकार स्रोतका अनुसार अहिलेसम्मको परिस्थिति र आगामी राजनीतिबारे विश्लेषण गरिएको सो छलफलमा नयाँ राजनीतिक कोर्षका लागि पनि तयार हुनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।
एमसीसीको तनाबका बीच चुनावी तालमेलबारे पनि नेताहरुले आ-आफ्नो वृत्तमा अनौपचारिक छलफल थालेका छन् । कांग्रेसले एक्लै चुनाव लड्ने दाबी गर्दै आए पनि वस्तुगत अवस्था भने आफू अनुकुल नरहेको नेताहरुको प्रारम्भिक निचोड छ । कांग्रेस स्रोतका अनुसार तल्लो तहमा एमाले विभाजनको असर धेरै नदेखिएकाले एक्लै चुनाव लड्दा अपेक्षित परिणाम आउने अवस्था नरहेको रिपोर्ट कांग्रेसका नेताहरुले पाइसकेका छन् ।
राष्ट्रियस्तरमा नभए पनि आवश्यकता अनुरुप स्थानीयस्तरमा तालमेल गर्नुपर्ने बाध्यता गठबन्धनका सबै दलहरुलाई छ । बताइएअनुसार अघिल्लो चुनावमा आ-आफूले जितेका सिट लिएर एमालेले जितेका ठाउँमा तालमेल गर्ने गरी गठबन्धनका नेताहरुले अनौपचारिक छलफल गरेका छन् । तर,गठबन्धन जोगाउनै सकस भोगिरहेका नेताहरुले अहिलेसम्म त्यसतर्फ कुनै औपचारिक छलफल नगरेको बताइन्छ ।
टिप्पणीहरू