जबर्जस्ती गरे सरकारमा रहन्नौँ
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले यथास्थितिमा एमसीसी अनुमोदन नहुने अडान दोहोर्याउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्ने प्रतिवध्दतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएसँगै राष्ट्रिय राजनीति तरंगित भएका बेला गुरुङको यस्तो टिप्पणी आएको हो ।
सेप्टेम्बरमा देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी अनुमोदन गर्न समय मागिएको थियो । त्यसको जवाफमा एमसीसीले पनि दुवै नेतालाई पत्र लेखेर समय घर्किन लागेको भन्दै अनुमोदन गर्न अप्रत्यक्ष दबाब दिएको छ । एमसीसीकै कारण सत्ता गठबन्धनमा विवाद आइरहेका बेला पत्र सार्वजनिक भएपछि राजनीतिक ध्रुवीकरणको सम्भावना देखिएको छ ।
“अलि अगाडि प्रधानमन्त्रीसँग कुरा भएको थियो । त्यतिबेला उहाँले सहमतिमै अगाडि बढाउँछु भन्नुभएको थियो,अहिले पनि उहाँ सहमतिमै जानुहुन्छ भन्ने लागेको छ”
यसैबीच प्रधानमन्त्रीको सचिवालयले निहित राजनीतिक उध्देश्यका लागि पत्र सार्वजनिक गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिने चेतावनी दिएको चर्चासमेत चलेको छ । नेता गुरुङले पनि त्यस्तै संकेत गर्नुभयो । अहिले यसबारे आफूलाई थप जानकारी नभएकाले यसै भन्न नसक्ने तर गठबन्धनको सहमति बिना नै एमसीसी अघि बढाइए सरकारमा बस्न नैतिक समस्या हुने उहाँको भनाइ छ । यद्यपि अहिले नै सरकार छोड्ने भन्ने कुरा आफूलाई थाहा नभएको बताउनुभयो।
‘संशोधनबिना एमसीसी पास गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो । त्यसबारे अलि अगाडि प्रधानमन्त्रीसँग कुरा भएको थियो । त्यतिबेला उहाँले सहमतिमै अगाडि बढाउँछु भन्नुभएको थियो,अहिले पनि उहाँ सहमतिमै जानुहुन्छ भन्ने लागेको छ । त्यसविपरित हुँदा सरकारमा रहने नरहने भन्ने कुरा सोच्नुपर्ने हुन्छ’, नेता गुरुङले भन्नुभयो ।
आज प्रधानमन्त्री देउवा,प्रचण्ड र प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीबीच हुने छलफलपछि थप प्रष्ट हुने उहाँको भनाइ छ । तीन दलको छलफलमा माधव नेपालसहित गठबन्धनका अन्य नेताहरुलाई पनि सहभागी गराउनु उपयुक्त हुने उहाँको भनाइ छ ।
टिप्पणीहरू