भ्रष्टाचारको अखडा स्थानीय तह
महोत्तरी जिल्लाका स्थानीय तहमा भ्रष्ट्रचारका घटनाहरु एकपछि अरु बढिरहेका छन् । यही माघ महिनामा मात्रै २० वटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ ।
जिल्लामा पाँच गाउँपालिका र १० नगरपालिका छन् । तर प्रायः सबै पालिका भ्रष्टाचार र अनियमितताका अखडा बनेका छन् ।
सबै स्थानीय तहमा गरी यो आर्थिक वर्षमा मात्र दुई सय २५ वटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी विजय शर्माले बताए । उनले मधेस प्रदेशको महोत्तरी भ्रष्टाचार र अनियमितताका निवेदनअनुसार तेस्रो नम्बरमा रहेको जानकारी दिए ।
शर्माका अनुसार निवेदन व्यक्तिभन्दा पनि प्राय: स्थानीय सरकारविरुद्ध परेका छन् । आयोगको कार्यालय बर्दिबासले हेर्ने मधेस प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी धनुषाका स्थानीय तहमा अनियमितता हुने गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा महोत्तरीका दुई सय २५ भ्रष्टाचार र अनियमितताका निवेदनमध्ये ८२ वटा फस्र्यौट भइसकेका छन् भने अझै एक सय ४३ वटा निवेदन अनुसन्धानको क्रममा छन् । अख्तियारमा परेका निवेदनलाई आधार बनाएर हेर्ने हो भने पनि स्थानीय सरकारको यो पाँच वर्षको कार्यकाल खासै फलदायी बन्न नसकेको स्थानीय र सरोकारवालाहरुको भनाइ छ ।
टिप्पणीहरू