एनआईसी एशिया बैंकको साना तथा मझौला कर्जा, अर्थतन्त्रलाई ऊर्जा

एनआईसी एशिया बैंकको साना तथा मझौला कर्जा, अर्थतन्त्रलाई ऊर्जा

नेपालजस्ता अल्प–विकसित र आर्थिक स्रोतसाधन संकुचित भएको मुलुकका लागि साना तथा मझौला उद्योग–व्यवसायहरूको महत्वपूर्ण भूमिका र योगदान रहँदै आएको छ । मुलुकको राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको ५ दशमलब ६ प्रतिशत हिस्सा रहेकोमा साना, घरेलु तथा मझौला उद्योगहरूले मात्र ९० प्रतिशत योगदान गर्छन् । हालसालै उद्योग विभागले प्रकाशन गरेको लघु, घरेलु तथा साना उद्योगहरूको तथ्यांक २०७७÷२०७८ ले नेपालमा सानो पुँजीमा सञ्चालित उद्योगहरूबारे विस्तृत चित्र प्रस्तुत गरेको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार घर–जग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको, उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहेको, वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको उद्योगलाई लघु उद्योग मानिन्छ । यस्तै, परम्परागत सीप र प्रविधिमा आधारित, श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित उद्योगलाई घरेलु उद्योगका रूपमा परिभाषित गरिएको छ । यसरी नै, लघु उद्यम र घरेलु उद्योग बाहेकको १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना उद्योग, १५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग र ५० करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योगका रूपमा परिभाषित गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म देशभरि ५ लाख २२ हजार ७ सय ३३ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता रहेकामा अद्यावधिक नवीकरण नभई खारेजीमा परेका र उद्योगीको मागबमोजिम लगत कट्टा हुन गएका उद्योगहरू हटाउँदा हाल यस्ता उद्योगको संख्या ४ लाख ८७ हजार ६ सय ४३ वटा देखिन्छन् । उद्योग विभागकै अर्को तथ्यांकअनुसार देशभरिका मझौला उद्योगहरूको संख्या १ हजार १ सय ९० रहेको छ ।

यसबाहेक लघु, साना, मझौला व्यवसायको वास्तविक तथ्यांक संकलन हुन सकेकै छैन । आफ्नै घरमा वा अरुका घरमा स–सानो पुँजीमा, स–साना व्यवसाय सञ्चालन गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । केन्द्रीय तथ्यांक विभागले सम्पन्न गरेको पहिलो आर्थिक गणना २०७५ अनुसार देशभरि सञ्चालनमा रहेका ९ लाख २३ हजार ३ सय ५६ औद्योगिक–व्यावसायिक प्रतिष्ठानमध्ये ९८ प्रतिशत एसएमईहरू नै छन् । जसमध्ये करिब ५० प्रतिशत दर्ता नै भएका छैनन् । जुन तरिकाले गाउँगाउँमा, ससाना बस्ती र बजार अनि सहरी क्षेत्रका गल्ली–गल्लीमा साना–मझौला व्यवसाग सञ्चालन भइरहेको देखिन्छ, त्यसलाई हेर्दा यस्ता व्यवसायहरूको संख्या अझै बढी हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

देशभरि औपचारिक रुपमा दर्ता भइ सञ्चालनमा रहेका वा दर्तै नभए सञ्चालनमा रहेका साना तथा मझौला उद्योगहरू देशको अर्थतन्त्रका मेरुदण्ड नै हुन् । यिनीहरूले देशभित्र लाखौं रोजगारी सिर्जना गर्न र आर्थिक क्रियाकलाप बढाइ देशकै अर्थतन्त्रको विस्तारमा ठूलो योगदान पुर्याइरहेका छन् । एउटा एसएमईमा कम्तिमा पनि ५ देखि ३५ वा ४० जनासम्मले रोजगारी पाइरहेका हुन्छन् ।

विगतदेखि नै एसएमईहरूले आफ्नो उद्योग–व्यवसाय विस्तारका लागि चालुपुँजीको अभाव महसुस गर्दै आएकोमा विगत केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै एसएमई कर्जा शीर्षकमा कर्जा उपलब्ध गराउन थालेपछि त्यो समस्या बिस्तारै हल हुँदै गएको छ । एसएमईहरूलाई प्रदान गरिने यस्तो कर्जाको ब्याजदर पनि सहुलियत हुन्छ भने अन्य व्यावसायिक कर्जाको तुलनामा ऋण लिने प्रक्रिया पनि सरल रहने गरेको छ ।

निजी क्षेत्रको अग्रणी बैंक एनआईसी एशियाले पछिल्लो समीक्षा अवधिसम्म १३ हजार ५ सय २५ ऋणीहरूका लागि ८८ अर्ब ९८ करोड रुपैयाँ एसएमई कर्जा उपलब्ध गराइसकेको सो बैंकले जानकारी दिएको छ । बैंकले देशभरिका आफ्ना ३ सय ५८ वटै शाखाबाट एसएमई कर्जा पाउन सकिने पनि बताएको छ । बैंकले १५ लाखदेखि ५ करोडसम्मको कर्जालाई साना तथा मझौला कर्जामा वर्गीकरण गरेको छ । २०७६ असार मसान्तसम्म बैंकबाट ६ हजार ८ सय ३७ साना तथा मझौला उद्यमी–व्यसायीले ४६ अर्ब ८५ करो ३४ लाख रुपैयाँ लिएकोमा यो संख्या वृद्धि भई २०७८ असार मसान्तसम्म आइपुग्दा १२ हजार १ सय ३ साना तथा मझौला उद्यमीले ८२ अर्ब १२ करोड ८८ लाख रुपैयाँ कर्जा लिए । २०७८ पुससम्म आइपुग्दा यसमा अझ वृद्धि भइ १३ हजार ५ सय २५ साना तथा मझौला उद्यमीले कुल ८८ अर्ब ९८ करोड रुपैयाँ कर्जा लिइसकेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार एसएमई कर्जाका लागि देशभरिका साना तथा मझौला उद्योगीहरूले बैंकमा सम्पर्क गर्ने क्रम बढेको छ । ‘हामीले सकेसम्म सरल प्रक्रियाबाट छिटोभन्द छिटो एसएमई कर्जा दिने व्यवस्था मिलाएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन्, ‘यो मुलुकको अर्थतन्त्र उत्थानका लागि हाम्रो सानो योगदान हो ।’

टिप्पणीहरू