प्रेम आलेको सक्रियतामाथि अदालतको अंकुश
उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । पशुपति क्षेत्रको धर्मशालामा सञ्चालित होटल आनन्द प्रा.लि.लाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अदालतले आज आदेश दिएको हो ।
आदेशमा अन्तरिम आदेश जारी नहुन्जेलसम्म २०७६ वैशाख ३० गतेको सम्झौताबमोजिम होटल आनन्दलाई काममा अवरोध नगर्न भनिएको छ । त्यस्तै,अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।
‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म २०७६ वैशाख ३० को करार सम्झौताबमोजिम होटल आनन्द प्रा.लि.को सञ्चालनमा कुनै बाधा,अवरोध सृजना नगर्नू,नगराउनू भनी विपक्षहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ,’नरिश्वर भण्डारी श्रीमानको आदेशमा भनिएको छ ।
बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौतामार्फत होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेपछि बतास समूह उच्च अदालत पाटन पुगेको हो ।
टिप्पणीहरू