आगो दन्किरह्यो, प्यारालाइसिस पीडित साह जलिरहे
सर्लाहीको शंकरपुरमा आगोले जलेर एक बृध्दको ज्यान गएको छ । बागमती नगरपालिका-८,शंकरपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर आज बिहान ज्यान गएको हो ।
आफ्नै घरको अाँगनमा आगोले जलिरहेको अवस्थामा साह फेला परेका थिए । शरीरमा आगो दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।
आगो निभाए पनि साहको भने घटनास्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवारका केही सदस्य आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।
टिप्पणीहरू