कुखुराबाट मानिसमा रोग सर्ने खतरा
पछिल्लो समय कुखुरामा देखिएको फ्लु मानिसमा पनि सर्न सक्ने बताउँदै स्वास्थ्य मन्त्रालयले सजग रहन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले बर्डफ्लुबाट सचेत रहन भनेको हो ।
गत माघ २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो ।
ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको (एच ५ एन १, एभिएन इन्फ्लुएन्जा) प्रजाति पुष्टि भएको हो ।
“सिँगान बगिरहने र नाक बन्द हुने, घाँटी दुख्ने,रुघा लाग्ने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता लक्षणहरु देखा पर्दछन् । “
कुखुरामा देखिएको सो प्रजाति मानिसमा पनि सजिलै सर्नसक्ने मन्त्रालयको भनाइ छ । शंकास्पद पंक्षीको सम्पर्कमा आएका व्यक्तिहरूले नजिकैको स्वास्थ्य केन्द्रमा जानकारी गराई संक्रमण भए / नभएको पहिचान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्ता,पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूलाई कम्तिमा १० दिन आइसोलेसनमा बस्न मन्त्रालयको अनुरोध छ । यसलाई मध्यनजर गर्दै मन्त्रालयले लक्षण र रोकथामका उपायहरु बताएको छ ।
बर्डफ्लुका लक्षणहरुः
यो रोग लागेपछि १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने मन्त्रालयले जनाएको छ । साथै, सिँगान बगिरहने र नाक बन्द हुने, घाँटी दुख्ने,रुघा लाग्ने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता लक्षणहरु देखा पर्दछन् ।
रोकथामः
पशुपंक्षीको खोर नियमित सफा गरेमा बर्डफ्लु रोकथाम हुनसक्ने मन्त्रालयको भनाइ छ । खोर सफा गर्दा मास्क र पञ्जा लगाएमा, खोर सफा गरेपछि मिचीमिची हात धोएमा यसको रोकथाम सम्भव छ ।
टिप्पणीहरू