फुली थाप्ने तालिममा विदेश जान कुन, कुन सैनिक छानिए ?
अङ्ग्रेजी चालू बर्ष सन् २०२२/२३ भित्र विभिन्न राष्ट्रमा सञ्चालन हुने एनडिसी (नेशनल डिफेन्स कोर्श ) तालिमका निम्ति नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको नाम छनौट भएको छ ।
सैनिक सेवा नियमावली २०६९ ,नियम ४६ को २ र एनडिसी वा सोसरहको तालिमका शिक्षार्थी मनोनयणसम्बन्धी कार्यविधि २०७३ को अनुसूची २ बमोजिम गरिएको मूल्याङ्कनबाट बाह्र महासेनानी र एक सहायक रथी छनोट भएका हुन् । नेपाली सेनालाई प्राप्त हुनसक्ने कोटामा उनीहरु प्राथमिकताक्रम अनुसार सहभागी हुनेछन् ।
यसरी विदेश जानेमा सैनिक कल्याणकारी महानिर्देशनालयका फुल कर्णेल पुरन घले,विपद व्यवस्थापन निर्देशनालय दरवन्दी रही प्रधान सेनापतिको कार्यालयमा काजमा कार्यरत रोजप्रताप जबरा,रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका राजाराम बस्नेत,युध्दकार्य निर्देशनालयका सन्जय देउजा,सैनिक सामाग्री प्राप्ती निर्देशनालय (काज:-बलाध्यक्ष विभाग) का श्रवणकुमार बिष्ट रहेका छन् ।
त्यसैगरी,सैनिक सचिव विभागका गौरव गुरुङ्ग,सैनिक तालिम महानिर्देशनालयका रामकाजी थापा, जंगी असवाव खानाका बालकृष्ण कार्की,तालिम महानिर्देशनालयका राजेन्द्र श्रेष्ठ,पूर्वी कमाण्ड हेडक्वार्टरका प्रकाशबहादुर चन्द, नम्बर १८ बाहिनी अड्डा उदयपुरका एक तारे जर्नेल मधुकरसिंह कार्की,पश्चिम कमाण्ड हेडक्वार्टरका महासेनानी सुवाषजंग थापा तथा चरक बाहिनीका ध्रुवकुमार कार्की रहेका छन् ।
यस्तै,सन् २०२१/२२ मा नेपालीसेनालाई प्राप्त भएको भ्याकेन्सीलाई आधार मानेर सन् २०२२/२३ मा प्राप्त हुनसक्ने भ्याकेन्सीमध्ये एनडिसी वा सो सरहको तालिमका लागि छनोट भइसकेका राष्ट्रिय प्रतिरक्षा विश्वविध्यालय पूर्वाधार निर्माण समितिको कार्यालयमा खटिएका पूर्वी कमाण्ड हेडक्वार्टरका सहायक रथी भोलानाथ थापालाई एक कोटा छुट्याइएको छ ।
शिक्षार्थी मनोनयनसम्बन्धी कार्यविधि २०७३ को दफा १२ ग ले निर्दिष्ट गरेबमोजिम रथीवृन्द तथा अधिकृतहरुको नतिजा प्रकाशन गरिएको सहायक रथी सैनिक सचिव गौरवकुमार केसीद्वारा जारी पत्रमा उल्लेख छ ।
पत्रमा छनौट भएका उम्मेदवारहरुलाई तालिमको भ्याकेन्सी,मर्यादाक्रम, तालिम सञ्चालन हुने समय र उमेरलाई समेत मध्यनजर गर्दै मनोनयन गरिने व्यहोरा पनि अनुरोध गरिएको छ ।
टिप्पणीहरू