एमसीसी सकस : सरकार छोड्ने माओवादी चेतावनी,समाजवादी अडिग
संशोधन बिना एमसीसी अगाडि बढाउन नदिने निर्णय गरेको सत्तारुढ माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । सो पार्टीको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने बताउनुभएको हो ।
आफूहरूको सुझावविपरीत यथास्थितिमै एमसीसी संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने उहाँको चेतावनी छ । गुरुङले एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने,निर्णयार्थ प्रक्रियामा सहभागी हुने र सभामुखको रुलिङ हेरेर चित्त नबुझे सरकारबाट बाहिरिने प्रष्ट पार्नुभयो ।
सत्ता गठबन्धनमा आवद्ध सबै दलको समर्थनविना सरकारले आज एमसीसी टेबुल गरेको हो । गठबन्धनका दलबीच मात्रै नभई एउटै दलका शीर्ष नेताहरू समेत पक्ष र विपक्षमा उभिएका छन् । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस पहिलेदेखि नै एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा थियो भने माओवादी केन्द्र यथास्थितिमा अनुमोदन गराउन नहुने अडानमा थियो । एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै टेबुल गर्न सरकारलाई आग्रह गर्दै आएको थियो ।
तर,अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीको पक्षमा र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिनुभएको छ । जनता समाजवादी पार्टीका नेताहरू पनि पक्ष र विपक्षमा छन् । जनमोर्चा एमसीसी खारेजीको माग राखेर सडकमै ओर्लिसकेको छ ।
शहरी विकासमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले भने पार्टीभित्र सैध्दान्तिक सहमति भएर नै एमसीसी टेबुल गर्न सरकारलाई सहयोग गरिएको बताउनुभयो । एमसीसी सदनमा टेबल गर्न पार्टीभित्र सहमति भएको उहाँको दाबी छ ।
‘आज सदनमा टेबुल भयो, परिमार्जनको विषय त्यहीँ उठ्ला, पार्टी संसदीय दलको बैठक बसेर यसबारे रणनीति बनाउँछौँ , यसबारे छलफल गर्न पर्याप्त समय छ, एमसीसी सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक रूपमा सहयोग गरेकोले सरकारबाट बाहिरिने भन्ने हुँदैन,’ उहाँको भनाइ छ ।
टिप्पणीहरू