विश्वकप खेल्न नेपालको भोलि अग्निपरीक्षा

विश्वकप खेल्न नेपालको भोलि अग्निपरीक्षा

नेपालले टी-२० विश्वकपमा ठाउँ सुरक्षित गर्न चिर प्रतिद्धन्दी यूएईलाई हराउनुपर्ने भएको छ । ओमानमा जारी छनोट प्रतियोगिताअन्तर्गत समूह चरणका सबै खेलमा जित हात पार्दै नेपालले यूएईसँग सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनल जिते नेपाल विश्वकपमा छानिने छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १५ औँ ओभरमा पूरा गर्यो ।

नेपालको जीतमा ओपनिङ ब्याटर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्र ऐरीले महत्वपूर्ण योगदान गरे । कुशलले नटआउट सर्वाधिक ३४ तथा दिपेन्द्रले नटआउट २७ रन जोडे ।

नेपालका लागि ओपनिङ गर्न आएका आसिफ शेख १७ रन बनाएर पेविलियन फर्कदाँ दोस्रो विकेटका रुपमा कुशल मल्ल डक आउट हुन पुगे । त्यस्तै, बलिङतर्फ कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट हात पार्न सफल भए । कमल सिंह ऐरी र अविनास बोहोराले समान दुई-दुई तथा कुशल मल्ले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको क्यानडाले कमजोर पर्दशन गरेको थियो । उसका लागि डिलोन हेलिगरले नटआउट २४ रन बनाउनु बाहेक अन्य खेलाडीले उत्कृष्ट पर्दशन गर्न सकेनन् ।

बलिङतर्फ भने कलिम साना र सलमान नजरले समान १ विकेट हात पारे । नेपालले पहिलो खेलमा ओमानलाई ३९ तथा दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

भोली नेपालले सेमिफाइनलमा ग्रुप बी को उपबिजेता यूएईको सामना गर्दैछ । युएइसँगको खेलमा जित निकालेमा नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

खेल भोली दिउसो पौने तीन बजे ओमानको अल अमरात क्रिकेट मैदानमा हुँदैछ । सेमिफाइनलमा दुवै टोली विश्वकपमा स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

टिप्पणीहरू