भारतीयको हत्या आरोपमा नेपाली पाटर्नर पक्राउ

भारतीयको हत्या आरोपमा नेपाली पाटर्नर पक्राउ

उदयपुरको कटारी नगरपालिका–८, टोड्केको जंगलमा दुई दिनअघि मृत भेटिएका व्यक्तिको हत्या भएको रहस्य खुलेको छ । हत्या भएका व्यक्ति भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणाको पहिचान गरिएको छ ।

प्रहरीले मिणाको हत्यामा संलग्न भएको आरोपमा उदयपुर बेलस्रोतका २८ वर्षीय कमल थापा भनिने कमल विकलाई पक्राउ गरेको छ । विकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको बयान दिएका छन् । हत्या गरिएका मिणा मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको प्राविधिकका रुपमा काम गर्दै आएका थिए ।

उनी माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्दै हुलियासहित पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि उनको खोजतलास गरिएको थियो । प्रहरीले विकलाई गत सोमबार पथरी–८ बाट पक्राउ गरेको हो । विकलाई पक्राउ गरेसँगै सोधपुछ गर्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पुलको ठेक्का गर्ने विक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याएर काम काज गर्ने सम्झौता भएअनुसार दुवै पाटर्नरका रुपमा काम गर्दथे । सोअनुसार पुलको पिलरको जग खन्ने मेशिन ल्याई काम काज गर्ने भनी समझदारी गरेबमोजिम विगत डेढ महिनादेखि मोरङको डास खोलामा काम गर्दै आइरहेका थिए ।

माघ २३ गते मिणाले चढ्ने गरेको बीआर ०१ बिसी ५६९७ नम्बरको गाडीमा दुवै जना बीरगञ्ज गएका थिए । त्यहाँबाट माघ २५ गते फर्केर आउँदै गर्दा विकको घर कटारी जाने क्रममा बाटोमा लेनदेनको विवाद भएपछि रिसको आवेगमा मिणाको हत्या गरेको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार वादविवादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका विकले रिसको आवेगमा मिणाको घाँटीमा केबल तारको डोरीले कसेर हत्या गरेको बताएका छन् ।

हत्या पश्चात् शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीभन्दा ३० किलोमिटरमाथि रहेको टोड्को जंगलमा लगेर फालिदिएका थिए । मिणाको शवलाई जंगलमा फालेर फर्किएका विकले मृतकले प्रयोग गरेको मोबाइल फोन कोशी नदीमा मिल्काएर गाडीलाई भारतीय बजार भीमनगरमा लगेर बेवारिसे अवस्थामा छाडेका थिए ।

दुवै बीरगञ्जसँगै गए पनि एक जना मात्रै फर्किएपछि विकसँग अरुले सोधपुछ गरेका थिए । तर उनले सामान लिन भारत गएको बताउँदै आएका थिए । एक महिना बित्न लाग्दा पनि मिणा नफर्केपछि उनको परिवारले प्रहरीमा जाहेरी दिए । त्यसपछि सक्रियता बढाएको प्रहरीले बेवारिसे भनिएको शवको फोटो झिकाइ उनको आफन्तलाई सनाखत गराउँदा मिणाकै भएको ठहर भएको हो ।

सबै रहस्य खुलेपछि विकलाई प्रहरीले पक्रेर सोधपुछ गरेको हो । सोधपुछको क्रममा भारतीयको हत्या रहस्य खुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

टिप्पणीहरू