आजबाट इलाममा नियमित उडान शुरु

आजबाट इलाममा नियमित उडान शुरु

इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट नियमित उडान शुरु भएको छ । यति एयरलाइन्सको तारा एयरको विमानले आजबाट उडान शुरु गरेको हो । पहिलो व्यावसायिक उडानमा केही यात्रुहरु र पर्यटनजन्य संस्थाका प्रमुखहरु आएका थिए । बिहान ११ बजे अवतरण भएको तारा एयर साढे २ बजे फर्किएको थियो ।

तारा एयरले हप्तामा दुई पटक नियमित उडान गर्ने भएको छ । बिहीबार र आइतबार नियमित उडान गर्ने एयरले जनाएको छ । इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चितता गरेपछि ताराले नियमित उडान शुरु गरेको हो । नगरपालिकाले यात्रुहरुको ग्यारेन्टीका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । एकतर्फी उडानको टिकट लिनलाई अर्कोतर्फको भाडा इलाम नगरपालिकाले गरिदिने भएको छ ।नियमित उडान हेर्न र पहिलो उडानमा आएका यात्रुहरुलाई स्वागत गर्नक ठूलो संख्यामा स्थानीयबासीको उपस्थिति थियो । गत माघ २६ गते परीक्षण उडान सफल भएपछि सरकारले फागुन १ गते विमानस्थलको उद्घाटन गरेको हो । नेपाल एयरलाइन्सको विमान चढेर आएका पूर्वप्रधानमन्त्री एवम् इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनाल र पर्यटनमन्त्री प्रेम आलेले संयुक्त रुपमा विमानस्थल उद्घाटन गरेका थिए ।

उद्घाटन गरेको हप्ता दिनभन्दा बढी समय बित्दा पनि सरकारले नियमित उडानमा चासो नदिएपछि इलाम नगरपालिकाले तारा एयरसँग संझौता गरेर नियमित उडान शुरु गरेको हो । विमानस्थलबाट नियमित उडानपछि इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रका बासिन्दालाई हवाई यात्राको निम्ति सहज हुनेछ ।

विमानस्थल बनाउन थालिएको १० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको १० वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको १० वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो ।

टिप्पणीहरू