शिवरात्रीका दिन पूर्वमन्त्रीले मूलभट्टको कुरो उठाए

शिवरात्रीका दिन पूर्वमन्त्रीले मूलभट्टको कुरो उठाए

२०६५ सालमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा संस्कृतिमन्त्री थिए, गोपाल किराँती । मन्त्रीको हैसियतमा किराँतीले पशुपति मन्दिरमा नेपाली पूूजारी नियुक्ति गर्दा विवाद भएको थियो । त्यतिबेलाको सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महावलेश्वरले राजीनामा दिएका थिए ।

आफूलाई काम गर्न अप्ठेरो परेको कारण देखाउँदै भट्ट बाहिरिएका थिए । उनले राजीनामा दिएपछि मन्दिरका अन्य दुई जना पूजारीले पनि राजीनामा दिएका थिए । पूजारीहरूले राजीनामा दिएको दुई महिनापछि सरकारले पशुपतिनाथको मूल पूजारीमा नुवाकोटका डा.विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो । तर उक्त नियुक्तिको व्यापक विरोध हुनुका साथै मन्दिरको पूजाआजा पनि अवरुद्ध भएको थियो ।

अहिले माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक रहेका उनै किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पूजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पूजारी हटाएर नेपाली पूजारी राख्न नसकिने उनको भनाइ छ । नेपालीले नै नेपाली पूजारीको विरोध गर्दा भारतीय पूजारीले स्थान पाएको उनले बताए । ‘आफ्नै देशमा योग्य पूजारी हुँदाहुँदै भारतबाट झिकाउनुपर्ने अवस्था आउनु दुःखद् हो’, उनले भने ।

पशुपति क्षेत्र विकास ऐन २०४५ विपरीत पूजारी नियुक्ति भएको उनको आरोप छ । ‘पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को पदेन सदस्य नेपाली नागरिक हुनुपर्ने ऐनमा भएको व्यवस्था मिचेर भारतीयलाई ल्याएर राख्दा म संस्कृतिमन्त्री हुँदा विरोध गरेका थिए । तर नेपालीलाई नियुक्ती गर्दा नेपाली जनताले नै विरोध गरे’, किराँतीले भनेका छन् ।

पशुपति मन्दिरलाई भारतीय सांस्कृतिक उपनिवेशको अखडा बनाइएको उनले आरोप लगाए ।

टिप्पणीहरू