महाभियोगको धङधङी र वकिलको महासंग्राम
ठूलै चर्चा परिचर्चाका साथ नेपाल बार एसोसिएसनको आगामी नेतृत्वका लागि अस्ति उम्मेदवारहरूले औपचारिक मनोनयन दर्ता गराएका छन् । न्यायिक नेतृत्वविरुद्ध आन्दोलनरत गठबन्धन र अलि नरमपन्थी दृष्टिकोण राख्दै आएको नेकपा एमाले आबद्ध कानुनव्यवसायी बारको नेतृत्वका लागि भिड्दै छन् । सानातिना समूहलेसमेत इच्छा जाहेर गरे पनि आन्दोलनकारी गठबन्धन र एमाले आमनेसामने बन्दा यसपालिको चुनाव रोमाञ्चक बन्ने देखिन्छ ।
प्रधानमन्त्रीका प्रियपात्र वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई आन्दोलनकारी गठबन्धनले अघि सारेको छ भने न्यायिक नेतृत्वप्रति अलि नरम दृष्टिकोण राख्ने एमालेका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी उठेका छन् । घिमिरेले मुख्य निर्वाचन आयुक्तको हैसियतमा नेपाली काँग्रेसको पछिल्लो महाधिवेशन सम्पन्न गराएको पुरस्कार पाएका छन् भने एमालेभित्र खासै अर्काे उम्मेदवार नदेखिएपछि अधिकारीलाई उठाइएको छ ।
माओवादीसँग तालमेल हुन सक्नेसम्मको कुरा उठे पनि एमाले बारको राजनीतिमा एक्लिएको छ । गठबन्धन गरेर रमण श्रेष्ठको नेतृत्वमा चुनावमा गएको भए एमाले आबद्ध समूहसमेत बलियो रुपमा देखा पर्ने थियो । वरिष्ठ अधिवक्ता रविनारायण खनाल, वर्तमान कोषाध्यक्ष रुद्र पोखरेललाई समेत उम्मेदवारीका लागि आग्रह गरिए पनि परिस्थिति आकलन गरी उनीहरू हच्किएको बताइन्छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध मात्र नभई सबै विकृति र विसंगतिको खेती गर्ने न्यायाधीशलाई टार्गेट गर्ने नेपाल बार एसोसिएसनको १५औं राष्ट्रिय सम्मेलन घोषणालगत्तै बारको राजनीतिमा रोमाञ्चक मोड आएको हो । अब न्यायालयमा सुधारवादविरुद्ध यथास्थितिवादको नारा लाग्न सक्ने देखिँदै छ ।
राणा निलम्बित भएपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश हुनुभएको छ । राणापक्षीय शक्ति अहिले मौन छ, पूरै असफल भइसकेको छैन भन्ने गठबन्धनपक्षीय वकिलहरुको विश्लेषण छ । एमालेपक्षीय कानुन व्यवसायीले जिते त एउटा मोड लेला तर गठबन्धनपक्षीय कानुन व्यवसायीले जितेमा राणाले महाभियोगबाट उम्किए पनि काम गर्न पाउने छैनन् । गठबन्धनपक्षीय कानुन व्यवसायीको रणनीति उनलाई जसरी तसरी काममा फर्किन नदिने रहेको छ ।
कार्की कायममुकायम बनिसकेका छन्, न्यायसेवा आयोग, न्यायपरिषद्लगायत निकाय पनि सक्रिय छन् । तत्काल पूर्ण बैठकले न्यायाधीश नियुक्ति गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेलगायत विषयमा समेत तयारी शुरु भइसकेको छ । राणाविरुद्धको आन्दोलनमा होमिएका व्यक्ति न्यायाधीश र वरिष्ठ अधिवक्ता हुनेछन् भने विस्तारै राणापक्षीय व्यक्तिलाई सकभर हटाइने वा कमजोर पार्ने रणनीति तय गरिएका छन् ।
अध्यक्षका उम्मेदवार घिमिरेले मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनको लागि मुख्य निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । घिमिरे चितवनका पूर्वसांसद रामकृष्णका भाइ हुन् । सुशील कोइरालाका विश्वासपात्र थिए ।
बारको २५ सदस्यीय कार्यसमितिमा काँग्रेस निकट कानुन व्यवसायीले अध्यक्ष, कोषाध्यक्षसहित १५, माओवादी केन्द्र र एकीकृत समाजवादीले छ र चार सिट पाउने सहमति भएको छ । महासचिवमा माओवादी केन्द्रबाट अञ्जिता खनाल र बागमती प्रदेशको उपाध्यक्षमा एकीकृत समाजवादीमा हर्क रावललाई प्रतिस्पर्धामा उतारिएको छ ।
टिप्पणीहरू