उवासंघ–चितवनको पदाधिकारीमा अनुभवीहरु मिलेर आउँदै
कुनैपनि संघ–संस्था चलाउन तथा त्यसको मर्म–भावना र उद्देश्यलाई सफल, सार्थक बनाउन अनुभवी, जिम्मेवार, सक्षम र जुझारु टिम चाहिन्छ ।
उद्योग वाणिज्य संघ–चितवनको आगामी कार्यसमितिका लागि यस्तै सबल, कुशल र खारिएका व्यक्तित्व पदाधिकारीमा आउँदैछन् । अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरुमा चिरञ्जीवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल आउन लागेका हुन् ।
आज बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक उम्मेदवारी घोषणा गरे । उद्योग वाणिज्य संघ–चितवनको ५५ औं साधारणसभा तथा अधिवेशनको अवसरमा यही फागुनको आगामी ३० गते निर्वाचन हुँदैछ । विगत लामो समयदेखि उद्योग वाणिज्य संघको विभिन्न जिम्मेवारी तथा पदाधिकारीका विभिन्न ओहोदामा रही काम गरी अनुभव हासिल गरिसकेका उनीहरुले आफूहरु एउटै प्यानलबाट चुनावमा जान लागेको बताए ।
‘सामूहिक कार्य, सकारात्मक सोच, सहकार्य र आपसी समझदारीबाट नै नेतृत्व चयन हुनुपर्दछ भन्ने हाम्रो मान्यता र संघका अग्रज, पूर्वअध्यक्षहरु र वर्तमान नेतृत्वबाट प्राप्त राय, सुझाव र मार्ग निर्देशन, आम उद्योगी व्यवसायीको चाहना बमोजिम यो उम्मेदवारी प्रस्तुत गरेका हौं’, उनीहरु भन्छन्, ‘हालसम्म संघबाट प्राप्त भएको ज्ञान र अग्रजहरुबाट पाएको निर्देशन र सदस्यहरुको राय, सुझावलाई हृदयंगम गर्दै आगामी कार्यकाललाई सफलताका साथ सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।’
साथै कार्यसमितिलाई पूर्णता दिने सन्दर्भमा समेत यस्तै सामूहिक प्रयास र आपसी समझदारी अनुसार गर्ने, व्यवसायिक हक हितको संरक्षण गर्ने, नीतिगत तहमा बहस पैरवी गर्ने र समग्र चितवनको सामाजिक, आर्थिक विकासको खाका तयार एवम् पैरवी गर्ने गरी अगाडि बढ्ने वचनबद्धता समेत उनीहरुले जनाएका छन् ।
‘चितवनलाई आर्थिक केन्द्रको रुपमा अगाडि बढाउन भूमिका खेल्नेछौं’, हाल संघको वरिष्ठ उपाध्यक्ष रहेका अध्यक्षका प्रत्यासी चुननारायण श्रेष्ठले भने, ‘चितवनबाट उत्पादन भएका बस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान कुटनीतिक पहल गर्नेछौं । चितवनमा लगानीमैत्री वातावरण सिर्जना गरी लगानी भित्र्याउनेतर्फ हाम्रो ध्येय रहनेछ ।’
यसैबीच, अध्यक्षमा चुननारायण र वरिष्ठ उपाध्यक्षमा सुमनकुमार अाजै निर्विराेध निर्वाचित भएका छन् ।
– अजय गोर्खाली
टिप्पणीहरू