राष्ट्रिय अनुसन्धानमा पनि एआइजीको लर्को
मुुलुकभित्र गोप्य सूचना र जानकारी बटुल्न स्थापित राष्ट्रिय अनुसन्धान विभागमा माथितिर पद थपेर भाग पुर्याउने गर्ने योजना बुनिएको आरोप छ । जम्माजम्मी २२ सय हाराहारी जनशक्ति रहेको संस्थामा दुई जना एआइजी राख्न पहल गरिएको समाचार चुहिएपछि सशस्त्र प्रहरी बलका हाकिमहरुले समेत खित्का छाडेका छन् ।
सशस्त्रका ती हाकिम भन्छन्, ‘३७ हजार जनशक्ति भएको हाम्रै संगठनमा दुई जना एआइजीलाई भने जति जिम्मेवारी पुगेको छैन । मुश्किलले २२ सय जनशक्ति रहेको संस्थामा दुई जना एआइजीको निम्ति पहल गर्नु भनेको जग हँसाउने काम हो ।’
विभागमा एआइजीको दरबन्दी अहिले एउटा छ । सबै तहका कर्मचारी गरेर २२ सय छन् । जहाँ एक जना एआइजीको निम्ति पदीय जिम्मेवारीका काम नै पर्याप्त देखिन्छ ।
दुई जनाको जरुरत नभएको विभागका एक जना पूर्व प्रमुखले पनि स्वीकारेका छन् । उनले पनि सशस्त्रकै उदाहरण दिँदै भने, ‘३७ हजार भएको संगठनमा दुई जना छन् । विभागमा दुई जना एआइजी राख्ने हो भने सशस्त्रमा १८ जना एआइजी चाहिन्छ ।’
‘प्रचण्डलाई आफूले भनेको एसपी र सिडियो भए पुग्यो । ७६ वटा जिल्लामा काँग्रेसले मस्ती गरेकोतर्फ कुनै वास्ता छैन ।’
अहिले एआइजीको दरबन्दी थपेर रातारात बढुवा हुन खोज्नेमा हुतराज थापा,टेकेन्द्र र ओम जोशी हुन् । थापाले माओवादीको फेरो समाएका छन् भने अरु दुई जनाले काँग्रेसको ।
दरबन्दी थपेर एआइजी बनाउन लागिएको समाचारवारे विभागकै अन्य कर्मचारीले भने, ‘मौकामा आफ्नो मान्छेलाई भाग पुर्याउन खोजिएको हो । संस्थाको आवश्यकता होइन ।’
यो काममा अहिले अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सबैभन्दा धेरै चासो देखाएको स्रोतको दाबी छ । उता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि चितवनको आफ्नो जिल्ला र निर्वाचन क्षेत्र अनि छोरीको महानगरको हकमा मात्र चासो लिएको आरोप लागेको छ ।
सुरक्षा निकायका एक जना माओवादी निकट अधिकारीले भने, ‘प्रचण्डलाई आफूले भनेको एसपी र सिडियो भए पुग्यो । ७६ वटा जिल्लामा काँग्रेसले मस्ती गरेकोतर्फ कुनै वास्ता छैन ।’
विभागमा अहिले एआइजी बन्न कस्सिएर हिँडका थापा यसअघि सुनकाण्डको छानबिन टोलीमा थिए । त्यसैगरी ७ नम्बर प्रदेशको इञ्चार्ज बनाएर कैलाली पठाउँदा अटेर गरेर काठमाडौं बसे । अहिले उनैलाई एआइजी बनाउनुपर्ने भन्दै माओवादीका मन्त्री लाग्नुलाई धेरैले पचाएका छैनन् ।
थापानिकट एक जनाले जनआस्थासँग भने, ‘उनी कुनै बेला बालाराम घर्तिमगरको पिए थिए । उनैले अनुसन्धान विभागमा जागिर खुवाएका हुन् । तर अहिले उनैलाई माओवादी शहीद परिवारको सदस्यको जामा भिराएर अर्थमन्त्री शर्माले एआईजीको पद थप्न गरेको पहललाई सच्चा माओवादीले रुचाएका छैनन् ।’
टिप्पणीहरू