‘फोरएभर एभरेष्ट’ दीघादेखि सगरमाथाको चुचुरोसम्म
महिलाहरु पनि पुरुषहरु जस्तै सबल हुन्छन भन्ने सन्देश दिन अष्ट्रियाकी जब्रिना फिटस्मोजाले समुन्द्री सतहदेखि संसारकैं सर्वोच्च उचाइँसम्मको चढाइँ अभियान सञ्चालन गर्ने भएकीछिन । ‘फोरएभर एभरेष्ट’ भन्ने नाम दिइएको यो अभियानको पहिलो चरणमा साइक्लिङ हुनेछ । दोस्रो चरणमा उनले प्रख्यात नेपाली आरोही मिङ्मा शेर्पाहरुको सहयोगमा अक्सिजनबिना सगरमाथा चढ्ने योजना बनाएकी छन् ।
अक्सिजन बोकेर जाँदा सगरमाथामा हुने फोहोरको थुप्रोलाई न्यूनीकरण गर्ने र विश्व सम्पदाको रुपमा रहेको सगरमाथालाई बचाउन सहयोग पुग्ने उनको विश्वास छ । उनले यो जानकारी आज गाईघाटमा आयोजित प्रेस मिटमा दिएकी हुन् ।
जब्रिना अष्ट्रियाकी जुडो खेलाडी हुन् । उनी विश्व जुडो च्याम्पियनशिपको दुई पटक काँस्य पदक विजेता हुन् भने युरोपेली च्याम्पियनशिपको स्वर्ण पदक विजेता पनि । सन् १९८० जुन १२ मा अष्ट्रियाको वेल्समा जन्मिएकी जब्रिनाले नेपालको अब्लादमलगायतका हिमशिखरहरुको सफलतापूर्वक आरोहण गरिसकेकी छन् । उनले सोलुखुम्बुमा जुडोको प्रशिक्षण गर्न सघाउँदै आएकी छन् ।
यो अभियान भारतको पश्चिम बंगाल राज्यको दीघाबाट सुरु भएर सगरमाथाको चुचुरोमा पुगेर समाप्त हुनेछ । यसले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्न सक्ने विश्वास लिइएको छ । पहिलो चरणमा भारतमा ५ दिन र नेपालमा ६ दिनको यात्रापछि साइक्लिङ सोलुखुम्बुको खरिखोलामा समाप्त हुनेछ ।
नेपालको काँकडभिट्टाबाट प्रवेश गर्ने जब्रिनाको समूहमा नेपाली प्रख्यात माउन्टेन बाइकर लक्ष्मी मगर र हर्क लामाले साथ दिने भएका छन् ।
अभियानको टोली काकडभिट्टाबाट प्रवेश गरेर पूर्व पश्चिम राजमार्ग हुँदै मदन भण्डारी राजमार्गको चतरा–गाईघाट–कटारी–घुर्मीको बाटोबाट ओखलढुंगादेखि सोलुखुम्बुको खरिखोलासम्म साइक्लिङ गर्दै जाने छ । साइक्लिङको सबैभन्दा लामो रुट उदयपुर रहेको छ । उनलाई ‘फोरएभर एभरेष्ट’मा साथ दिन उदयपुरका साइक्लिङ संघमा आवद्ध ५० जनाभन्दा बढी साइकल राइडरको समूहले साथ दिने जानकारी अध्यक्ष जितु रोइलाले दिएका छन् ।
टिप्पणीहरू