एमाले पत्रकार नेताहरुको नाम पनि चितवनकै स्टाइलमा राती टाँसिने सम्भावना
पोखरामा हिजोदेखि शुरु एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको नवौं महाधिवेशन पनि गत मंसिरमा चितवनमा सम्पन्न १० औं पार्टी महाधिवेशनकै स्टाइलमा राती नेतृत्वको नाम टाँसेर सकिने संकेत देखिएको छ । एक हजार बढी प्रतिनिधिमध्ये बहुमतले प्रजातान्त्रिक तवरबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठाए पनि चौतारी इञ्चार्ज तथा पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ्गले आज बिहान सम्पन्न अाकाँक्षीहरुसङ्गको छलफलमा हिजो ‘बा’ ले निर्देशन दिएर गएको भन्दै हालका अध्यक्ष गणेश बस्नेतलाई नै सर्वसम्मत अर्को कार्यकाल दोहोर्याउन आदेश दिएपछि नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको हो ।
‘विष्णु रिजाल कमरेड यहिँ हुनुहुन्छ, चौतारीका तत्कालीन अध्यक्ष राजेन्द्र अर्याल र अहिलेका गणेश बस्नेत पनि यहिँ हुनुहुन्छ । त्यो बेला मलाई दिइएको वचनबारे के भन्नुहुन्छ ?’
हिजो उद्घाटन क्रममा अध्यक्ष केपी शर्मा ओलीले पीत पत्रकारिता नगर्न, देखेको कुरो लेख्न र बोल्न आग्रह गर्नुभएको थियो । तर,काठमाडौं फर्कने बेला उहाँले गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ्गको कानमा,‘अरु केटाहरुलाई उठ्न नदिनु है,’ भनेको कुरो आज बिहान बसेको चौतारीको सचिवालय बैठकमा खुलेको हो ।
बैठकमा अध्यक्षका आकांक्षी चार जना देखिएका थिए । राजेश राई, माधव नेपाल,टिका बिष्ट र गणेश पाण्डे । यी सबैले आजको बैठकमा स्पष्टसङ्ग आफूले उठ्न पाउनुपर्ने माग राखेको बताइन्छ । सचिवालय बैठकमा भने गुरुङ्गले पार्टीको आदेश भन्दै चुनाव नगर्ने र बस्नेतलाई नै सर्वसम्मत बनाउने बटमलाइन सुनाएपछि यी सबै आगो भएका छन् ।
बैठकमा राजेश राईले प्रतिस्पर्धाको मौका दिनुपर्ने र हारे पनि विधिमार्फत प्राप्त परिणाम स्वीकार्य हुने मत राखेका थिए । त्यस्तै माधव नेपालले अघिल्लो पटक आफूलाई अबको अध्यक्ष बनाउने प्रतिबध्दता जनाएर एमालेमा रोकिएको कुरो नबिर्सन आग्रह गरेका थिए । माधवको भनाई उद्धृत गर्दै स्रोत भन्छ,‘विष्णु रिजाल कमरेड यहिँ हुनुहुन्छ, चौतारीका तत्कालीन अध्यक्ष राजेन्द्र अर्याल र अहिलेका गणेश बस्नेत पनि यहिँ हुनुहुन्छ । त्यो बेला मलाई दिइएको वचनबारे के भन्नुहुन्छ ?’
“काठमाडौं फर्कने बेला उहाँले गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ्गको कानमा,‘अरु केटाहरुलाई उठ्न नदिनु है,’ भनेको कुरो आज बिहान बसेको चौतारीको सचिवालय बैठकमा खुलेको हो ।”
नेपालले अगाडि भने,‘म चुनाव लड्छु,तपाईंहरुले हार्ने अवसर जुटाइदिनुस् । यदि चुनावी प्रक्रियामा लगिएन भने म विज्ञप्ति टाँसेर हिँड्छु ।’
बैठकमा बोल्ने क्रममा टिकाले आफू अध्यक्षको निम्ति योग्य रहेको बताइन् । उनले,‘अध्यक्षले पहिले नउठ्ने घोषणा गरेर अहिले के कारणले यस्तो अवस्था बनाइयो ?,’ भन्ने प्रश्न गरेकी हुन् । गणेश पाण्डेले पनि चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।
चौतारीका पहिलेका अध्यक्षहरु, महासचिव र सहभागी अधिकाँश प्रतिनिधिलाई नाम टाँस्ने योजना मन परेको छैन । तर खुलेर भन्न कसैले सकेका छैनन् । उनीहरुले बाको कुरोलाई किन ओभरटेक गर्ने भनेर मुखमा बुजो लगाएको सहभागीहरुको बुझाइ छ ।
‘म चुनाव लड्छु,तपाईंहरुले हार्ने अवसर जुटाइदिनुस् । यदि चुनावी प्रक्रियामा लगिएन भने म विज्ञप्ति टाँसेर हिँड्छु ।’
देशभरबाट यत्रो भेला डाकेर ७२ लाख खर्च गर्नु नै थियो भने काठमाडौंमै टिका लगाइदिएको भए भैहाल्थ्यो नि !-उनीहरुको मत यस्तो सुनिएको छ । पार्टीले भने राई र पाण्डेलाई बिधानमा वरिष्ठको ब्यवस्था नभए पनि उपाध्यक्षमा अड्याएर चितवनकै शैलीमा आज राति नाम टाँस्ने र नेपाललाई तपाईं प्रचार बिभागमा परिहाल्नुभो नि,अब त्यहीँ बसेर आफ्ना दु:ख,सुखको कथा प्रचार गर्नुहोस् भनी थामथुम पारिने प्रतिनिधिहरुको आकलन छ । सहभागीहरु चुनाव नहुने भएपछि फ्रस्टेटेड भएर हल बाहिर निस्केका छन् ।
महाधिवेशनमा आर्थिक र सांगठनिक प्रतिवेदनहरु हाट्हुट्ट तरिकाले पास गरिसकिएको छ ।
https://www.facebook.com/binodbabu/posts/1419292961874867
टिप्पणीहरू