ललितपुरमा कराँते खेलाइयो, प्रथम हुनेलाई ६५ हजार दिइयो
नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ सकिएको छ । दुई दिन भएको प्रतियोगितामा विभिन्न जिल्लाका दुई सय खेलाडीको सहभागिता थियो ।
मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुषतर्फ खुल्ला तौल समूहमा रुपक नेपाली प्रथम र सनी सिंह दोश्रो भए भने ६० केजी तौल समूहमा हितेश रानामगर प्रथम र संजयकुमार गुप्ताले दोश्रो स्थान प्राप्त गरे । त्यस्तै ५५ केजी समूहमा ओम तामाङ र रोशन गोतामेले क्रमशः पहिलो र दोस्रो स्थान प्राप्त गरेका हुन् ।
महिला तर्फ ५० केजी समूहमा शान्ति थापामगर र एकता कुमाल त्यस्तै ५५ केजी समूहमा रोहिणी कस्ती र बन्दना तामाङ क्रमशः पहिलो र दास्रो भएका हुन् । महिला खुल्ला तौल समूहमा भने मञ्जु विक र सुष्मिता सुनुवारले बाजी मारे ।
प्रतियोगितामा प्रथम हुने हरेक खेलाडीले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै प्रथम भएका खेलाडीमध्येबाट गोलाप्रथाद्वारा नेपाली सेनाका खेलाडी शान्ति थापा मगरलाई पहिलो पटक ५० हजार रुपैयाँको स्वर्गीय रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार पनि प्रदान गरिएको छ ।
प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभएको थियो । सो अवसरमा उहाँले आगामी वर्ष हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आवश्यक बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
टिप्पणीहरू