बाख्राको दुधबाट बनेको चीजको माग धान्नै मुश्किल
दुधबाट उत्पादन हुने चीज स्वास्थ्यका लागि निकै नै लाभदायक मानिन्छ । चीजमा भिटामिन बी हुने भएकाले पछिल्लो समय यसको माग बढेको हो । बाख्राको दुधबाट बन्ने चीजको व्यापार अहिले निकै फस्टाएको छ । तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई अहिले बजारको माग धान्न धौ–धौ पर्न थालेको हो ।
विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकले चीज मन पराएसँगै यसको माग पनि बढ्न थालेको हो । विदेशीहरुले चीज र वाइन रुचाउने भएकाले पनि चीजको माग धान्न धौ धौ परेको बताइन्छ । ‘नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त हुने भएकाले पनि पछिल्लो समय धेरै मन पराइएको हो,’ केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले बताए ।
आचार्यका अनुसार अहिले केन्द्रमा छ प्रजातिका बाख्रा पालिएको छ । तीमध्ये बोयर र सानेन जातको बाख्राको माग बढिरहको छ । उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पुग्ने पर्याप्त दुध दिन सक्ने जानकारी दिए । एक दिनमा यो जातको बाख्राले साढे दुईदेखि चार लिटरसम्म दुध दिने गरेको छ ।
दुधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिले इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको केन्द्रले जनाएको छ । स्थानीय र होटल व्यवसायीहरुको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको अधिकृत आचार्य बताउँछन् ।
यता, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउँछन् । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएकाले उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको दाबी गरे ।
टिप्पणीहरू