जुम्लामा पनि हतियार बुझाउन १५ दिनको म्याद
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, जुम्लाले आफूसँग भएका हातहतियार प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न इजाजतप्राप्त हातहतियारसमेत प्रहरीलाई बुझाउन भनेको हो । निर्वाचनपछि ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।
‘आफूसँग भएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता पाउने गरी नजिकका प्रहरी इकाइमा बुझाउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हतियार खोजतलास गरी कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत र धादिङले सर्वसाधारणलाई हतियार बुझाउन यसअघि नै आग्रह गरिसकेको छ ।
टिप्पणीहरू