कनिष्ठ सहसचिवले पड्काए पद

कनिष्ठ सहसचिवले पड्काए पद

कोरानाको कहरको बीच एक जुनियर सहसचिवले सचिव पद पड्काएका छन् । बढुवाको सिफारिस समितिको तेश्रो नम्बरमा रहेका राजेन्द्रप्रसाद भारीले अन्य दुई सहसचिवहरुलाई जिल्लाराम खुवाउँदै कृषि सचिवमा पदोन्नति पड्काएका हुन् ।

कृषि सचिव बन्ने लाइनमा पहिलो नम्बरमा थिए योगेन्द्रकुमार कार्की । उनी बाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवका रुपमा कार्यरत छन् । पहिलो नम्बरमा नाम सिफारिस भएका योगेन्द्रले बधाईसमेत खाइसकेका थिए ।

यस्तै दोश्रो नम्बरमा सिफारिस भएका कृष्ण आचार्य पहिला वनको डिजी थिए । अहिले सुदूरपश्चिम प्रदेशमा खटिएका छन् । कार्कीमाथि प्याक्टमा रहँदा अनियमितता गरेको चार्ज लाग्दै आएको छ । यही कारण उनको बढुवा रोकिएको कृषि मन्त्रालय स्रोतको भनाइ छ । कार्कीको कार्याकाल अब ६ महिनामात्र बाँकी छ । आफूभन्दा कनिष्ठले सचिव पड्काएपछि योगेन्द्रले राजीनामा दिएर घर हिँड्न खोजेका थिए तर लकडाउनका कारण राजीनामासमेत रोकिएको छ ।

यी दुवै सहसचिवलाई जिल्लाराम खुवाउँदै कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालकै क्षेत्रका भारीले पिछडिएको क्षेत्रबाट सचिव पद पड्काउन सफल भएका हुन् । निजामती प्रशासनमा सामान्यतया वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्नुपर्ने परिपाटी भए पनि भारीको हकमा त्यो लागू भएन ।

मन्त्रिपरिषद्को बैठकमा सचिव बढुवाको विषयमा कुनै छलफल नभएको एक मन्त्रीले जनआस्थालाई सुनाए । भारी जागिरे अवधिभर प्रोजेक्टमा बस्ने भाग्यमानी कर्मचारी हुन् । शाखा अधिकृतबाट जागिरमा इन्ट्री गरेका उनी सीएलडीपी (कम्युनिटि लाइफस्टेक डेभलपमेन्ट प्रोजेक्ट) को योजना अधिकृतबाट उपसचिवमा बढुवा भएसँगै तेस्रो लाइभस्टेक डेभलपमेन्ट प्रोजेक्टको योजना प्रमुख बन्ने मौका पाए । सहसचिव बढुवा हुनासाथ भारीले हाइ भ्याल्ली प्रोजेक्टको प्रोेजेक्ट डाइरेक्टर बन्ने अवसर पाए । जहाँ ६ वर्ष बिताएका थिए ।

उता महिना दिनअघि नै बढुवा भएका अर्को सचिव १४ दिने क्वारेन्टाइनमा बसेर सोमबार मात्र कार्यालयमा हाजिर भएका छन् । उनी हुन एकनारायण अर्याल । कलकत्ताका महावाणिज्यदूत रहेका अर्याल गत १८ फागुनमा सचिव पदमा पदोन्नती भएका थिए । उनी सचिवमा बढुवा भएसँगै उनको पदस्थापन काठमाडौं महानगरपालिकामा भएको थियो । अर्यालका अनुसार कलकत्तामा बिदाइ ढिलो हुँदा अरु १० दिन उतै अल्झिए । त्यहाँबाट नेपाल फर्किएलगत्तै १४ दिने अनिवार्य क्वारेन्टाइन बसेर उनी महानगरपालिकामा हाजिर गर्न पुगेका हुन् ।

टिप्पणीहरू