भुक्तानी नपाउँदा सडकको पिच उप्काइयो : बिदाको दिन नबोल्ने ठेकेदारको अडान
भुक्तानी नपाउँदा ठेकेदारले निर्माण ठप्प पार्ने, आफ्नो सरसामान लिएर जाने गरेका घटना नौला होइनन् । तर, सुनसरीमा भने काम गरेको भुक्तानी नपाउँदा एक जना ठेकेदारले कालोपत्रे गरिएको सडकको पिच नै उप्काएर लगेको घटना सार्वजनिक भएको छ ।
इनरुवा नगरपालिका वडा नम्बर ४ मा कालोपत्रे गरेको सडक तथा अन्य विकास निर्माणका कार्यको भुक्तानी नपाएपछि ठेकेदारले सडकको कालोपत्रे अर्थाते पिच उप्काएको त्यहाँका स्थानीयले बताएका छन् ।
उनीहरुका अनुसार नगरपालिकाको तुलनात्मक रुपमा दुर्गम वडाको रुपमा चिनिने वडा नम्बर ४ को गणेशपुरमको सडकमा पोखिएको अलकत्रा ठेकेदार कम्पनीले उप्काएको हो ।
नगरपालिकाले चार सय २५ मिटर लामो सडक कालोपत्रे गर्न स्थानीय केजी कन्ट्रकसनलाई जिम्मा दिएको थियो । निर्माणव्यवसायी गजेन्द्र अधिकारीको उक्त कम्पनीले जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको र आफ्नो रकम डुब्न सक्ने देखेपछि सडक उप्काएको बताइन्छ । ठेक्का सम्झौतामा ग्राभेल, बेस, प्राइम कोट, सिल्क कोट, ट्याग कोट र कार्पेटिङलगायतको इष्टिमेट गरिएको छ ।
यता, इनरुवा नगरपालिकाले भने उक्त खबर र सूचना भ्रामक भएको बताएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा यस्ता भ्रम फैलाइएको नगरपालिकाका मेयर राजन मेहेताले बताए । उनले उक्त सडक पिच नगरपालिकाको बजेटबाट नगरिएको उल्लेख गरे । संघीय सरकारको बजेटमा सडक कालोपत्रे हुन लागेको मेयरको भनाइ छ ।
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र पर्ने उल्लेख गर्दै उनले भने, ‘यसबारे मैले ठेकेदारसँग कुरा गरेको छु । ठेकेदारले पहिले अर्को सडक बनाउने र पछिमा यो सडक कालोपत्रे गर्ने भनेका छन् ।’ मेयरले नै प्रष्ट पार्दै भनेका छन्, ‘कालोपत्रे नै नभएको सडक कसरी उप्कायो ?’
नगरपालिकाका इञ्जिनियर उमेश मेहेताले पनि सडक कालोपत्रे नभएको जानकारी दिए । उनले बेसको काम भएको स्वीकारेका छन् । रकम भुक्तानी नभएको भ्रम फैलाउनु नै गलत रहेको उमेशको दाबी छ । उनले नगरपालिकाले सडक कालोपत्रे गर्न यसअघि गरेको निर्णयअनुसार ठेकेदार अधिकारीको खातामा पहिले नै रकम हालिसकेको बताएका छन् ।
यसो त, मेयर र इञ्जिनियरले भनेका कुरा नै बाझिएको छ । मेयरले संघीय बजेटबाट सडक बन्न लागेको बताएका छन् । नगरपालिकाका इञ्जिनियर मेहेताले भने नगरपालिकाको बजेटबाट बनाउन लागिएकाले पेश्की रकम ठेकेदारको खातामा गइसकेको बताए । चुनावलक्षित भ्रामक समाचार भने पनि इञ्जिनियर र मेयरको भनाइमा देखिएको आकाश जमिनको फरकले धेरै आशंका उब्जाएको छ ।
भुक्तानी पाए नपाएकोबारे निर्माण व्यवसायी तथा ठेकेदार गजेन्द्र अधिकारीसँग जनआस्थाले बुझ्न खोज्दा उनले जवाफ दिनै चाहेनन् । ‘आज नयाँ वर्ष हो, तपाईंलाई शुभकामना । सडकको कालोपत्रे उप्काएको विषयमा म आज बोल्दिन, हिजो भए बोल्थेँ र भोलि पनि बोल्न तयार छु, आज सार्वजनिक बिदा हो,’ भन्दै फोन राखिदिए ।
टिप्पणीहरू