सहमति भाँड्ने शक्तिलाई गाउँपालिका प्रवेशमा रोक

सहमति भाँड्ने शक्तिलाई गाउँपालिका प्रवेशमा रोक

डोल्पाको काइके गाउँपालिकाले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा आवतजावतमा प्रतिबन्ध लगाएको छ । डोल्पोबुद्ध गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको माग गरेपछि काइकेले विज्ञप्ति नै निकालेर त्यहाँ जान प्रतिबन्ध लगाएको हो ।

काइके गाउँपालिकाका अध्यक्ष अंकत रानाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘काइके गाउँपालिकामा सबै उम्मेदवारहरू सर्वसहमतिले चयन भएको बेला डोल्पोबुद्ध गाउँपालिकाले सर्वसहमति हुन नदिनु धार्मिक तथा भाइचाराको सम्बन्ध बिगार्ने खेल खेलेको छ । हामी सबैले उपल्लो डोल्पाको एकै श्वर बोल्नुपर्छ । यदि सर्वसहमति हुन नदिए नाका बन्द नखोल्ने निर्णय भएको छ ।’

स्थानीयबासीका अनुसार विज्ञप्ति प्रकाशन गर्नुअघि नै खाद्यान्न बोकेका चौँरी र घोडा र खच्चडहरू रोक्न सुरु भएको थियो । केही समयअघि नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले सांसद धनबहादुर रानाको आडमा यो काम गरिरहेको स्थानीयबासीको आरोप छ ।

उपल्लो डोल्पामा अहिलेसम्म स्वतन्त्र रुपमा चुनाव हुन नसकेको र बुथहरु कब्जा गरी जबरजस्ती मतदान गराएर चुनावमा आफू अनुकुलको परिणाम निकाल्ने गरेको आरोप सांसद बुढामाथि लाग्दै आएको छ ।

डोल्पोबुद्धका अध्यक्षलगायत बहुमत जनप्रतिनिधि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेपछि तिक्तता बढ्दै आएको छ । डोल्पाको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले शान्ति सुरक्षा दिन तयार भएको बताएका छन् ।

टिप्पणीहरू