विम्बल्डनमा रुस र बेलारुसका खेलाडी प्रतिबन्धित

विम्बल्डनमा रुस र बेलारुसका खेलाडी प्रतिबन्धित

रुसले युक्रेनमाथि आक्रमण गरेको रिस पश्चिमा विश्वले सबै क्षेत्रमा पोख्न थालेको छ । पछिल्लो पटक रुस र बेलारुसका खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा भाग लिनबाट रोक लगाइएको छ ।

घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिताअन्तर्गतको विम्बल्डनमा रुस र बेलारुसका खेलाडीलाई रोक लगाइएको हो । बेलायतको अल इङ्ल्याण्ड क्लबले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध लगाएको हो ।

उक्त निर्णयपछि अमेरिकी ओपन विजेता तथा विश्व वरियताको दोस्रो स्थानमा रहेका ड्यानियल मेद्भेदएभको विम्बल्डनमा सहभागिता हुने छैन । विश्व वरियताको आठौँ स्थानमा रहेका आन्द्रेइ रुब्लेभलाई पनि प्रतियोगितामा देखिने छैन ।

महिला खेलाडीमध्ये चौथो वरियताकी एरिना साबालान्का, विश्वकी पूर्वनम्बर एक खेलाडी भिक्टोरिया अजारेन्का र गत वर्ष फ्रेञ्च ओपनकी उपविजेता अनास्तासिया पाभ्लुचेन्कोभालाई पनि रोक लागेको छ ।

विम्बल्डन आगामी जुन २७ तारिखदेखि हुँदैछ । अल इङ्ल्यान्ड क्लबले बेलायत सरकारसँगको छलफलपछि उक्त निर्णय लिएको हो । यसअघि रुसलाई फुटबल,फिगर स्केटिङ, ट्रयाक एन्ड फिल्डलगायतका खेलकुदमा प्रतिबन्ध लगाइसकिएको छ । बेलारुसले रुसलाई साथ दिएको कारण देखाउँदै उसमाथि पनि प्रतिबन्ध लगाइएको हो ।

टिप्पणीहरू