राजीनामाको तयारीमा मधेशका मुख्यमन्त्री

राजीनामाको तयारीमा मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभामा विश्वासको मत नपाउने भएपछि उनले पद छोड्न लागेका हुन् । 

सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेको थियो । त्यसैअनुसार विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री र एमालेका केही सांसद बैठकमै नआएपछि दिउँसो २ बजेलाई सारिएको छ । 

प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गत कात्तिक २३ गते यादव मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठन हुने विकल्प हुँदाहुँदै उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त उनलाई तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीले होटलमा बोलाएर शपथ खुवाएकी थिइन् । यो कदम गैरसंवैधानिक रहेको जिकिर गर्दै एमाले बाहेका सबै दलको तर्फबाट सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । 

कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले पनि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सम्भव नदेखेपछि बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यसयता मधेशमा राजनीतिक किचलो चर्किंदै आएको छ । 

यहि प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकी कञ्चन बिच्छालाई सांसदबाट बर्खास्त गरिएकी छ । राप्रपाले यसअघि लिखित स्पष्टीकरण सोधेकोमा चित्त बुझ्दो जवाफ नदिएको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।
 

टिप्पणीहरू