पत्रकारमाथि युएई दूतावासका कर्मचारीद्धारा दुर्व्यवहार

पत्रकारमाथि युएई दूतावासका कर्मचारीद्धारा दुर्व्यवहार

नेपाल पत्रकार महासंघ, युएई शाखाका सदस्य एवम् महाप्रतिवाद राष्ट्रिय साप्ताहिकमा कार्यरत पत्रकार कृष्णबहादुर कुँवरमाथि दुर्व्यवहार भएको छ ।  युएईस्थित नेपाली दूतावासका कर्मचारी डिल्लीराम शर्मा र पिआरओ इरफान आलमले दुर्व्यवहार गरेपछि महासंघले ध्यानाकर्षण भएको बताएको छ । 

पासपोर्ट नवीकरणका लागि पीडितलाई सहयोग गर्न तथा समाचार संकलनका लागि दूतावास पुगेका पत्रकार कुँवरलाई त्यहाँका कर्मचारीले धम्काएका थिए । महासंघको परिचयपत्र देखाएर पत्रकार रहेको परिचय दिँदादिँदै पनि दूतावासका कर्मचारीले उनको मोबाइल र परिचयपत्र ४ घण्टासम्मका लागि जफत गरेका हुन् । साथै, उनीहरुले स्थानीय प्रहरी बोलाएर पक्राउ गराउने धम्की दिएर युएईको परिचयपत्रसमेत जफत गरी मानसिक तनाव दिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महासंघले भनेको छ,‘नेपालबाट रोजगारी वा अन्य कुनै प्रयोजनले युएई पुगेका नेपालीहरुको समस्या र उनीहरुको आवाजलाई सम्बन्धित निकायमा पुर्याउन भूमिका निर्वाह गर्दै आएका नेपाली पत्रकारमाथि नेपाली दूतावासकै कर्मचारीबाट भएको यस्तो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी काम हो ।’

साथै, महासंघले युएईमा रहेका नेपाली र नेपाली पत्रकारको सुरक्षा र समस्याका सवालमा गम्भीर हुन परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावाससंग जोडदार माग गरेको छ ।

टिप्पणीहरू