मादल बजाउँदै सेना मैदानमा

मादल बजाउँदै सेना मैदानमा

हिरासतमा राखिएका हाकिमलाई मोबाइल चलाउन दिएको निहुँमा जंगी अड्डाको सैनिक प्रहरी गणबाट त्यसका हाकिम कारवाहीमा परेका छन् । सैन्य आचरणविपरितका गतिविधिको आरोपमा थुनिएका दुईतारे जर्नेल प्रेमबहादुर शाहीलाई छाउनीस्थित सैनिक अस्पताल लैजाने क्रममा समातेको भोलिपल्टै मोबाइल चलाउन दिइएको थियो । त्यही कारण आर्टिलरी (तोपखाना)तर्फका लेफ्टिनेन्ट कर्णेल मोहन थापा त्यहाँबाट निकालिएका छन् । उनको सट्टामा दिनेश गौतमलाई खटाइएको छ । 

अर्कातिर, यसपटकको सैनिक दिवस फागुन ७, अर्थात् त्रिभुवन जयन्तीकै दिन मनाउने धुमधाम छ । नेपाली सेनाले शिवरात्रिको दिन आफ्नो स्थापना दिवश मनाउँदै आएको छ । उक्त अवसरमा नेपालका लोपोन्मुख वाद्ययन्त्रलाई प्रोत्साहन गर्ने पूर्वप्रधानसेनापति गौरवसमशेर राणाकालीन नीतिलाई निरन्तरता दिइँदैछ । गौरवको पालामा झण्डै तीन सय सैनिक जवानले सारंगी रेट्दै टुँडिखेलमा परेड खेलेका थिए । यसपालि मादलको पालो परेको छ । त्यसका लागि नारायणहिटीको उत्तरतर्फ रहेको उपत्यका पृतनामा अभ्यास भइरहेको छ । यो काम विभिन्न व्यारेकमा छरिएर रहेका सैनिकहरुलाई जम्मा पारेर फत्ये गरिँदैछ । सेनालाई यस्तो काम गर्नुपर्छ भनेर सल्लाह दिने र त्यो कामको व्यवस्थापन गर्ने व्यक्ति वरिष्ठ संगीतकार शम्भुजित बाँसकोटा हुन् । 

उता, भर्ना प्रक्रियामा ढिलाई हुँदा सैन्य विधिअनुसारका तालिम र शिक्षालयहरु प्रभावित भएका छन् । थारु कल्याणकारी सभाका तर्फबाट आरक्षणको माग गर्दै विभिन्न सरकारी निकायविरुद्ध सर्वोच्चमा रिट दायर गर्दा सेना पनि त्यसमा परेको कारण भर्ना रोकिएको छ । सेनासहित राष्ट्र बैंक, बाणिज्य बैंक, नेपाल प्रहरी, टेलिकम, शिक्षक सेवा आयोग, बीमा कम्पनी र प्रदेशसभा १ का विरुद्ध त्यस्तो मुद्दा परेकोमा सबैतिर भर्ना रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । सेनाको छनौट प्रक्रिया नै पाँच–६ महिनाको हुन्छ । त्यसपछि दुई वर्षे तालिम हुन्छ । यस्तो आदेशका कारण एकपछि अर्को तालिम र भर्नाका विभिन्न चरण तथा पाठ्यक्रम तयार पार्ने काम प्रभावित भएको छ । चेन अफ कमाण्डमा आधारित फौजी संगठनमा नयाँ भर्ना नलिँदा माथिल्लो दर्जाबाट खालि हुँदै जाने पदहरु तल्लो दर्जासम्म प्रभावित हुने गरेका छन् । 

टिप्पणीहरू