१२ वर्षदेखि चिडियाघरको पाण्डाको दिनहुँ फोटो खिच्ने ‘मिस्टर पाण्डा’

१२ वर्षदेखि चिडियाघरको पाण्डाको दिनहुँ फोटो खिच्ने ‘मिस्टर पाण्डा’

‘मिस्टर पाण्डा’ को नामले प्रख्यात जापानी नागरिक ताकाउजी पाण्डाको फोटो खिच्ने भनेपछि हुरुक्कै हुन्छन् । उनी पछिल्लो १२ वर्षदेखि जापानको एउटा चिडियाघर पुगेर दिनहुँ पाण्डाको दिनचर्याको फोटो खिच्नमा व्यस्त छन् । 

झण्डै १२ वर्षदेखि पाण्डाको तस्बिर खिच्दै आएका उनी हरेक दिन टोकियोको उनो चिडियाखानामा भेटिन्छन् । तीन वर्षअघिदेखि फैलिएको कोभिड महामारीमा भएको लकडाउन र छोरीको जन्मदिनका कारण तीन सय ४० दिन तस्बिर लिन नपाएका उनको जनावरप्रति एकदमै धेरै मोह भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

टोकियोमा यो वर्षको वसन्त मौसम शुरु भए पनि हिमपात भइरहेको छ । चिसो अत्यधिक छ । यद्यपि, यस्तो मौसममा पनि ताकाउजी सबेरै चिडियाखाना पुग्ने गर्छन् । जसले उनको पाण्डाप्रतिको लगावलाई छर्लङ्ग पारेको बताइन्छ । 

उनले सन् २०११ देखि ‘मैनिची पाण्डा’ नामक वेभसाइट नै शुरु गरेका छन् । त्यहाँ उनो चिडियाखानामा रहेका विशाल पाण्डाका तस्बिरहरु नियमित रुपमा अपलोड गर्ने पनि उनै हुन् ।

४४ वर्षीय ताकाउजी पाण्डा अवलोकनको निम्ति स्थानीय समयअनुसार बिहान साँढे ९ बजे घरबाट निस्कन्छन् । झण्डै एक घण्टाको सडक यात्रापछि उनी चिडियाखाना पुग्छन् । त्यत्ति नै समय लगाएर पछि घर फर्कन्छन् ।

टिप्पणीहरू