पत्रकारको भेलामा पोखिने मर्मस्पर्शी पीडा

पत्रकारको भेलामा पोखिने मर्मस्पर्शी पीडा

नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरको भेलामा असन्तुष्टि छताछुल्ल भएको छ । गत हप्ता काठमाडौंको साँखुमा सम्पन्न केन्द्रीय साधारण सभामा ठूलै हंगामा मच्चिएको हो । ‘कृष्ण सेन इच्छुक स्मृति दिवस’ को मौका छोपेर जेठ १३ गते साधारण सभा आयोजना गरिएको थियो । 

एउटै टिमलाई बारम्बार सम्मानित गरिएको भन्दै चर्को विरोध गरेको बताइन्छ । सोही क्रममा दाङका पत्रकार एवं संगठनका वरिष्ठ उपाध्यक्ष अजयदीप शर्मा र राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक एवं जनार्दन शर्माका भाइ ओपेन्द्रले राजीनामाको घोषणा गरेका थिए । ‘उहाँहरूमाथि अन्याय नै भएको हो । एउटा टिम पुरस्कृत भएको भयै छ, अरु हेरेका हेर्यै । यस वर्ष पनि सोही प्रवृत्तिले निरन्तरता पायो । सम्मान भनेको एकचोटि पो हुन्छ । एउटै विधामा पटकपटक सम्मानित हुनुको के मान्यता ?’ 

भेलामा उपस्थित एक पत्रकारले भने, ‘त्यसपछि उहाँहरूले विरोध जनाउनुभयो । उहाँहरूलाई बोल्न पनि दिइएको थिएन । तर, जबर्जस्ती बोल्दै राजीनामा घोषणा गर्नुभएको हो ।’ पछिल्लो समय संगठनको कार्यशैलीप्रति असन्तुष्टि जनाउनेको संख्या ह्वात्तै बढेको छ । साधारणसभाकै दिन ललितपुर शाखाका आठ जनाले राजीनामा दिएका थिए । उत्कृष्ट जिल्ला कमिटीका रूपमा ललितपुर जिल्ला कमिटीलाई छनोट नगरेको विरोधमा अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष गोपाल आलेमगर, सचिव दीपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, महानगरपालिका सचिव राजुप्रसाद नेपाल र उपत्यका समितिका सदस्य राममणि घिमिरेले संगठन छाडेका थिए । यता, निष्पक्ष रूपमा पुरस्कार वितरण नगरेपछि चित्त दुखाएका मधेश प्रदेशका अध्यक्ष किरण कर्णले घरायसी समस्या देखाउँदै संगठन परित्याग गरेका छन् । 

मध्यराति फोन गरेर थर्काएपछि बागमती प्रदेशका महासचिव ध्रुव अधिकारीले पनि राजीनामा दिएका थिए । केन्द्रीय नेतृत्वले दारु सेवन गरेर आधारात चार बुँदे प्रष्टीकरणसहित राजीनामा मागेको भन्दै उनले संगठन परित्याग गरेका हुन् । 

संगठन धितो, दारु छिटोछिटो 

केन्द्रीय नेताहरूले जिल्ला–जिल्लामा पुगेर ‘उधारो’ मा दारु पिएको विषयले भेलामा निकै चर्चा पाएको थियो । संगठन नै धितो राखेर दारु खाइदिएको भन्दै केहीले विरोध जनाएका थिए । तीन दर्जन जिल्लाका शाखा बढी संगठन उधारोले थलिएको बताइएको छ । ‘सम्मेलनमा सहभागी हुन केन्द्रीय नेतृत्वहरू जिल्लाजिल्ला पुग्छन् । त्यहाँ गएर रातभर जाँड खान्छन् अनि बिहान उठेर सम्मेलनमा जान्छन् । आफ्नै पैसा तिरेर खाएको भए नि हुने । अहिले लगभग ४० वटा संगठनलाई उधारोले च्यापेको छ’, स्रोतले भन्यो ।

 

टिप्पणीहरू