माओवादी गढमा यसरी बनेको थियो एमाले

माओवादी गढमा यसरी बनेको थियो एमाले
सुन्नुहोस्

राप्ती अञ्चलको कम्युनिष्ट आन्दोलन ०२८ सालदेखि तीव्रतम विकास भएको मानिन्छ । संगठन विस्तार क्रममा ०२८ सालमा सिद्धरत्न नाथ नमुना मावि नारायणपुर दाङमा आगलागी गराइएको थियो । बेलुका ८ : ३० बजे प्रधानाध्यापक प्रेमनारायण अधिकारीले नाटकको पहिलो शो देखाउन लागेको बेला एक्कासी आगलागी भयो भन्दै होहल्ला भएको थियो । तत्कालीन नेपाल विद्यार्थी संघका दामोदर न्यौपाने, गोविन्द गौतमलगायतले आगलागी गराएको भन्ने सुनिन थाल्यो ।

०२८ सालदेखि नारायणपुर माविका प्रधानाध्यापक नेत्रलाल पौडेल (अभागी) को नेतृत्वमा शिवराज गौतम, अमरबहादुर डाँगी, ऋषिराज जंगलीलगायत शिक्षकले तत्कालीन नेकपा मालेको विचारलाई अँगाल्नुभएकाले शासकहरू उहाँमाथि निगरानी राख्न थालेपछि बाध्य भएर पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभएको थियो । त्यही समयदेखि दाङको हापुर, नारायणपुर, बिजौरी, भोजपुरलगायत क्षेत्रमा नेकपा मालेको वर्चश्व रहन गयो । दाङका ती क्षेत्रसँग सीमा जोडिएका रोल्पाका नुवागाउँ, डुब्रिङ, दुविडाँडा, सखी, झेनाम, मसिना, बुढागाउँ, जुगारजस्ता क्षेत्रमा पनि नेकपा मालेको प्रभाव विस्तार हुँदै गयो । पार्टीको पूर्णकालीन कार्यकर्ता भई अर्धभूमिगत अवस्थामा रहेका नेता नेत्रलाल अभागीले दाङ र रोल्पाका यी भूभागको संगठन निर्माणमा विशेष योगदान गरेका थिए ।

रोल्पा जिल्लामा नेकपा एमालेको अहिलेको आधार भनेको त्यही बेलाको संगठन हो । दाङसँग सीमा जोडिएका क्षेत्रको अतिरिक्त गैरीगाउँ, कोर्चवाङ, तालावाङजस्ता क्षेत्र पनि छिमेकी गाउँको प्रभावका कारण नेकपा मालेसँग जोडिएका छन् । २०३९ सालमा दाङको सवारीकोटमा अभागीको निधनपछि रोल्पाको संगठन निर्माणमा रोल्पाली नेता नै जुट्नुपर्ने भयो । जसका लागि रत्नबहादुर बस्नेत, हरिप्रसाद बस्नेत, कोर्चवाङका शिक्षक मानबहादुर बाँठा, धनबहादुर बस्नेत, शोभाराम बस्नेत, रविबहादुर पुनलगायत खटिए । यता, सदरमुकाम लिवाङ तथा पूर्वी रोल्पामा दक्षिणको तुलनामा नेकपा एमाले निकै कमजोर थियो । ०४६ सालको राजनीतिक परिवर्तनपछि सदरमुकाम लिवाङमा पार्टी कार्यालय स्थापना भयो ।

तत्कालीन जिल्ला सचिवमा यज्ञराज बास्तोला आएका थिए । उनले करिब २ वर्ष सञ्चालन गरेपछि ०४८ सालतिर टीकाराम खड्का आए । बहुदलीय व्यवस्था पुनःस्थापनासँगै ०४८ सालमा पहिलो आमनिर्वाचन हुने भयो । त्यतिबेला नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले बनिसकेको थियो । एमालेका धेरै कार्यकर्ताले रोल्पामा सूर्य चिह्नबाट चुनाव लड्नुपर्छ भनेर माग राखे पनि राप्ती अञ्चलमा ‘सबै वाम एक ठाम’को नीतिअनुसार रोल्पा जिल्ला तत्कालीन संयुक्त जनमोर्चा नेपाललाई छाडिदिनुपर्ने भयो ।

शैशवकालमा रहेको नेकपा एमालेले पहिलो आमनिर्वाचनमा सहभागी हुन नपाउने भएपछि कार्यकर्तामा असन्तुष्टि देखिन थालेको थियो । माथिको आदेश मान्नैपर्ने बाध्यताका कारण निर्वाचन क्षेत्र नं. १ मा संयुक्त जनमोर्चाका उम्मेदवार बर्मन बुढामगर र क्षेत्र नं. २ मा कृष्णबहादुर महरालाई मतदान गर्नैपर्ने भयो । हारजितको संशयका बीच २०४८ सालको संसदीय निर्वाचन रोल्पाबाट दुवै क्षेत्र तत्कालीन नेकपा एकता केन्द्रको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालले जितेको हो ।

राप्ती अञ्चलमा रहेका ११ वटा निर्वाचन क्षेत्रमध्ये दाङको ३ वटा, सल्यानको २ वटा र प्युठानको १ गरी ६ वटा क्षेत्रमा एमालेलाई सहयोग गर्ने र रोल्पाका २, रुकुमका २ र प्युठानको १ गरी ५ वटा निर्वाचन क्षेत्र तत्कालीन संयुक्त जनमोर्चालाई दिने सहमतिबमोजिम भएको गठवन्धनमा नेकपा एमालेले दाङको एउटा निर्वाचन क्षेत्रवाट मात्रै चुनाव जितेको थियो भने तत्कालीन संयुक्त जनमोर्चाले रोल्पाबाट २ र रुकुमबाट १ सिट हात पारेको थियो । दाङका शिवराज गौतमले नेकपा एमालेबाट चुनाव जितेका थिए भने रोल्पाबाट कृष्णबहादुर महरा र बर्मन बुढा तथा रुकुमबाट खड्कबहादुर बुढा संसद्मा पुगेका थिए । अन्य सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए ।

रोल्पाका एमालेजनले पहिलो संसदीय निर्वाचनमा सूर्यमा भोट हाल्न नपाई हँसिया हथौडामा भोट हाल्न बाध्य भएका थिए । पहिलो निर्वाचनमै नेकपा एमालेले रोल्पामा चुनाव लक्षित गतिविधि गर्न नपाएका कारण जिल्लाभरि संगठनको सञ्जाल विस्तार हुन सकेन । २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा जिल्ला विकास समितिका निम्ति संयुक्त जनमोर्चासँग मिल्नुपर्ने भयो । नेपाली कांग्रेस र राप्रपा मिलेका कारण यो बाध्यता भएको हो ।

संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीलाई सभापति र नेकपा एमालेका मानबहादुर बाँठालाई उपसभापति बनाउने गरी गठबन्धन गरियो । सुवेदी र बाँठामगर दुवैजना शिक्षण पेशामा संलग्न थिए । दुवै जनाले स्थायी नोकरीबाट राजीनामा दिएर जनप्रतिनिधिका लागि निर्वाचन लडे । २०५२ साल फागुन १ गतेपछि तत्कालीन नेकपा माओवादीको नामबाट सशस्त्र युद्धको घोषणा गरी भूमिगत राजनीतिमा प्रवेश गरेसँगै रोल्पामा उनीहरूको आक्रमणको तारो राप्रपा, कांग्रेस र एमालेका कार्यकर्ता र समर्थक बन्न पुगे ।

युद्ध अवधिमा माओवादीले एमालेका दर्जनाैँ नेता–कार्यकर्ता र शुभचिन्तकको हत्या गरे । हार्जङको एक घरमा बसिरहेका ९ जना नेता–कार्यकर्तालाई माओवादीले घरमा आगो लगाएर हत्या गरेका थिए । युद्ध अवधिभर एमालेले आफ्ना सांगठनिक गतिविधि गर्न पाएन । शान्ति प्रक्रियापछि एमालेको गढ मानिने दक्षिण रोल्पामा माओवादी लडाकुको शिविर राखियो । एमाले गढ मानिने नुवागाउँको दहवनमा मुख्य शिविर र मसिना तथा गैरीगाउँमा सहायक शिविर राखेपछि लडाकूहरूले एमालेलाई सांगठनिक गतिविधि निर्वाध गर्न दिएनन् ।

यसरी रोल्पामा नेकपा एमालेलाई उठ्नै नदिने गरी संयुक्त जनमोर्चाकालदेखि माओवादी युद्ध र शान्तिप्रक्रियाको अवधिमा पनि गतिविधि भइरहे पनि नेकपा एमालेले रोल्पामा आफ्नो संगठन बचाइराखेको छ । कांग्रेस र एमालेलेसमेत रोल्पालाई नेकपा माओवादीको आरक्षण क्षेत्रजस्तो व्यवहार गरेका छन् । एक्लै चुनाव लड्न नसक्ने नेकपा माओवादी केन्द्र कहिले कांग्रेससँग त कहिले एमालेसँग गठबन्धन गर्दैछ । यसरी जुन दलसँग गठबन्धन गरे पनि रोल्पा माओवादीलाई छोड्दिनुपर्दा यहाँ कांग्रेस–एमालेको संगठन कमजोर हुनु स्वाभाविक हो । यस्तो अवस्थामा समेत एमालेले माओवादीसमेतको सहभागितामा भएका दुर्ई वटा स्थानीय तह निर्वाचनमा सम्मानजनक उपस्थिति देखाएको छ ।

०७४ सालमा दुर्ई स्थानीय तह र ११ वडाध्यक्ष जितेको एमालेले २०८० सालमा एक स्थानीय तहको अध्यक्ष र ८ वडाध्यक्ष जितेको छ । एमालेबाट फुटेको एकीकृत समाजवादीले प्रायः सबै स्थानीय तहमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा एमालेको केही मत काटिन पुगेको थियो । फलस्वरूप एमालेले २ स्थानीय तहको अध्यक्षबाट १ मा र ११ वडाध्यक्षबाट ८ मा ओर्लन परे पनि थवाङमा समेत सूर्यध्वजा फहराउन सफल हुनु चानचुने कुरा हैन । सांगठनिक रूपमा कमजोर मानिने पूर्वी रोल्पामासमेत एमालेले दह्रिलो उपस्थिति देखाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा जैमाकसला, गामजस्ता वडा जितेको थियो । दोश्रो स्थानीय तह निर्वाचनमा ती वडा गुमाउनुपरे पनि पूर्वी रोल्पामा एमालेको संगठन मजवुत हुँदै गएको बुझ्न सकिन्छ । रोल्पालाई हेर्ने नेताहरूको कमजोर मानसिकताका कारण एमाले कमजोर भएको हो ।

टिप्पणीहरू