माइतीघर हिँडेका महतो भद्रकालीमा रोकिए

माइतीघर हिँडेका महतो भद्रकालीमा रोकिए
सुन्नुहोस्

माइतीघरको निषेधित क्षेत्र तोड्न निस्किएका मधेसी नेता राजेन्द्र महतो र प्रहरीबीच भद्रकाली मन्दिर परिसरमा धकेलाधकेल भएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आफ्नै नेतृत्वमा 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका महतो आज अपराह्न दलबलसहित माइतीघरको निषेधाज्ञा तोड्न निस्किएका थिए । तर, प्रहरीले प्रदर्शनकारीलाई भद्रकालीमै रोकेपछि दुई पक्षबीच घम्साघम्सी परेको हो । 

महतोको नेतृत्वमा नाराबाजीसहित कालो ब्यानर प्रदर्शन गर्दै डिल्लीबजारबाट निस्किएको जुलुस पुतलीसडक, बागबजार, घण्टाघर हुँदै भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले सम्झाउदा पनि प्रदर्शनकारीले जबर्जस्ती गर्न खोजेपछि केहीबेर तनाव उत्पन्न भएको हो ।

 

त्यसक्रममा केही प्रदर्शनकारी सामान्य घाइतेसमेत भएका छन् । प्रहरीले रोकेपछि प्रदर्शनकारीहरुले भद्रकालीमै उभिएर नाराबाजी गरे । 

महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै यसैसाता लोसपा परित्याग गरी महतोले 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका हुन् । ०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीच भएको आठ बुँदे सम्झौता कार्यान्वयन गराउन सडकबाट दबाब दिने भन्दै उनले आन्दोलन घोषणा गरेका छन् ।

टिप्पणीहरू