भव्य भवन बनाउने एमालेको तयारी, पैसा उठाउन क्युआर कोड सार्वजनिक

भव्य भवन बनाउने एमालेको तयारी, पैसा उठाउन क्युआर कोड सार्वजनिक
सुन्नुहोस्

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय निर्माण अभियानमा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको छ । 

ललितपुरको गोदावारीस्थित सनराईज हलमा महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा एमालेले कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्न क्युआर कोड सार्वजनिक गरेको हो । मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरुबाट रकम उठाएर भवन निर्माण सम्पन्न गर्ने अभियान शुरु गरिएको जनाउँदै महासचिव शंकर पोखरेलले त्यसमा साथ दिन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको जानकारी दिए । 

क्युआर कोडमा तत्काल रकम जम्मा गरी कार्यालय भवनको पहिलो दाता बन्ने अवसरका लागि पनि एमालेले आग्रह गरेको छ । त्यसक्रममा सदस्यता नवीकरण र बिस्तार गर्दा प्रत्यक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य संकलन गर्ने प्रक्रिया जारी रहेको पनि जानकारी गराइयो । 

समर्थक, शुभचिन्तक र मनकारी दाताहरुबाट सहयोग लिएर एमालेले आधुनिक र भव्य कार्यालय भवन बनाउने योजना बनाएको छ । त्यसैका लागि क्यूआर कोडमार्फत रकम संकलन गर्न लागिएको हो । 

एमालेले पार्टी कार्यालय भवन बनाउने ठाउँ टुंगो लगाइसकेको जनाएपनि सार्वजनिक भने गरेको छैन ।

टिप्पणीहरू