झिर्पु इलेक्ट्रोको ढलान भासिएपछि दुई मजदुर बेपत्ता, १० घाइते

झिर्पु इलेक्ट्रोको ढलान भासिएपछि दुई मजदुर बेपत्ता, १० घाइते
सुन्नुहोस्

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, मा रहेको झिर्पु इलेक्ट्रो पावर कम्पनीको ढलान भासिँदा १० जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–३, का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका–५, का ३० वर्षीय सुमन थारु बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरञ्जन भट्टराईले बताए ।

उनीहरुको खोजतलास जारी छ । आज दिउँसो ड्याम साइडको सुरुङ ढलान गर्ने क्रममा एक्कासी भासिएपछि कार्यरत मजदुरहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतका निकायबाट तत्काल खटिएको टोलीले १० जनाको उद्धार गरेपनि दुई जना ढलानमा च्यापिएर बेपत्ता भएको उनले बताए । उनीहरुको खोजी जारी छ । 

घाइते भएकामा बर्दियाका ४० वर्षीय लहानु थारु, ४५ वर्षीय दुर्गा चौधरी, ४० वर्षीय आईतमान थामी छन् । दोलखाका ४१ वर्षीय आइतबहादुर थामी, ३१ वर्षीय विजय थामी, ३० वर्षीय दिपक थामी, ४५ वर्षीय पदमबहादुर थामी, ५८ वर्षीय रामचन्द्र रिमालसहित रोल्पाका २३ वर्षीय सासन रोका मगर र ५६ वर्षीय गोपाल थामी पनि घाइते भएका छन् । 

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू