बदाम उत्पादनमा नगरपालिकाको जोड

बदाम उत्पादनमा नगरपालिकाको जोड

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले व्यवसायिक बदाम खेतीमा संलग्न कृषकलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

चालु आर्थिक वर्षको स्वीकृत बजेट कार्यक्रमअन्तर्गत ‘बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो  । पालिकाका अनुसार न्यूनतम पाँच मुरी वा सोभन्दा बढी बदाम उत्पादन गर्ने स्थानीय कृषकलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइने छ । 

पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सय रुपैयाँका दरले साढे दुई हजार र त्योभन्दा बढी फलाउनेलाई थप तीन सय रुपैयाँका दरले प्रोत्साहन रकम दिइने जनाइएको छ । 

यसका लागि नगरपालिकाले इच्छुक कृषकलाई निवेदन पेश गर्न आह्वान गरेको छ । सम्बन्धित वडा कार्यालयमा उत्पादन विवरण र आवश्यक कागजातसहित आगामी पन्ध्र दिनभित्र निवेदन पेश गर्न सकिने जनाइएको छ ।

टिप्पणीहरू