कुनै बेला रामराजाप्रसाद सिंह भारत प्रवासबाट स्वदेश फर्कने पूर्वसन्ध्यामा उनका समर्थकहरूले काठमाडौँमा ‘जनताका छोरा आउँदै छन्, सिंहासन खाली गर’ भन्ने नारा लेखेका वा पर्चा बनाएका थिए । अब कांग्रेस, एमाले, माओवादी केन्द्र, एस लगायत दलबाट दोस्रो र तेस्रो तहका नेताहरूले पनि आ–आफ्ना शीर्ष नेतृत्वलाई यस्तै किसिमको र प्रष्ट बुझिने भाषामा अनुरोध गर्नुपर्यो– कमरेड यहाँहरूले पनि पार्टीको सिंहासन खाली गर्नुस् (इनफ इज इनफ), पार्टी हामीले चलाउँछौँ । स्वैच्छिक अवकाश लिनुहोस् (ग्रेसफुल एक्जिट) र सम्मानित जीवन बिताउनुहोस् अन्यथा कठोर कदम चाल्न बाध्य हुनेछौं । किनभने नेपाली जनता अब यहाँहरूको नेतृत्वमा रहेको पार्टी र आन्दोलनको बदनामीको साक्षी बस्न तयार छैनन् भनेर भन्नुपर्यो । देशभित्र के भइरहेको छ, छिमेकमा के भइरहेको छ भनेर सामान्य कुराको समेत भेउ नपाउने तपाईंहरूबाट देशले निकास पाउन सक्दैन । २३ गतेदेखि अहिलेसम्म देशमा जे–जस्ता गतिविधि भइरहेका छन् ती सबै तपाईंहरूको असफलताको दुष्परिणाम हो । सुतेको बेला गहिरिएर सोच्नुहोला, वास्तविकता आफै छर्लंग हुनेछ ।
आजको युग डिजिटल युग हो । नयाँ प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले समाज, अर्थतन्त्र, र शासन प्रणालीलाई आधारभूत रूपमा बदलिएको छ । यस्तो अवस्थामा जुन नेताहरू प्रविधिको महत्व, क्षमता र प्रभावबारे अनभिज्ञ छन् तिनीहरूले देश विकासको प्रभावकारी नीति निर्माण, आर्थिक विकासको संचालन, र समाजको आवश्यकता पूरा गर्ने शासन प्रणाली सञ्चालन गर्न सक्दैनन् । सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रमा एआइकोे डाटाविज्ञानले कसरी सहयोग पु¥याउन सक्छ भन्ने कुरा नबुझ्नेहरूले देशलाई विकासको मार्गमा हिँडाउन सक्दैनन्, वैश्विक प्रतिस्पर्धामा उतार्ने कुरा त कल्पना भन्दा बाहिरको कुरा भयो ।
देशलाई प्रतिक्रान्तिमा पतन हुन नदिन र यथास्थितिबाट माथि उठाएर अघि बढ्नको लागि जेनजीको भावनासँग एकाकार भएर अघि बढ्न सक्ने नेतृत्व चाहिन्छ ।
जन्मेको ६ महिना पुगेकोको बच्चालाई समेत प्रविधिको प्रयोग नगरिकन (कार्टुनको भिडियो, टिकटक रिल, गीत, जनावरको दृश्यहरू) खाना खुवाउन नसकिने अवस्था बनिसकेको छ । कलेज र युनिभर्सिटी पढ्ने विद्यार्थीहरू, स्वतन्त्र तरिकाले अनलाइनमार्फत ब्यापार गर्ने, गीत गाउने कलाकारलगायत धेरै मानिसको दैनिकीसित प्रविधि जोडिएको छ । कृत्रिम सूचनाले कसरी मानिसको धारणालाई प्रभावित र परिवर्तन गराइरहेको छ भनेर बताइरहनु पर्दैन । आधुनिक प्रविधिसंग अपरिचित, आधुनिक प्रविधि प्रयोगको ज्ञान नभएको कुनै पनि नेतृत्वको भोलिको नेपालको राजनीतिमा कुनै स्थान छैन । र, ६–६ महिनामा अपग्रेड र अपडेट भइरहनु पर्ने प्रविधिको प्रयोग कसरी गर्ने भन्ने जानकारी नै नहुने मानिस नेता बन्न सम्भव पनि छैन ।
२३ गतेको जेनजीको आन्दोलन तयारी र परिचालन कसरी भइरहेको थियो, सामाजिक सन्जाल र डिजिटल प्लेटफर्ममार्फत के–के गरियो भनेर सिंगो राज्य संयन्त्रले समेत चाल नपाउनु आश्चर्यजनक छ । आन्दोलनका सारा रणनीति, कार्यक्रम र कार्यविधि डिजिटल प्लेटफर्ममार्फत साझा गरिएको थियो । कतिसम्म भने भ्वाइस च्यानलमा प्रत्यक्ष छलफल गरेर तत्काल निर्णय लिइएको थियो । आन्दोलनको दौरान सूचना प्रसारण, सूचनाको गोप्यता र सुरक्षा कसरी कायम गरियो, अन्य प्लेटफर्मसँग जस्तै डिस्कर्डलाई कसरी फेसबुक, ट्वीटर, इन्स्ताग्रामजस्ता प्लेटफर्मसँग जोडेर सूचना धेरै ठूलो स्केलमा साझा गरियो भन्ने कुराको भनकसमेत थाहा नपाउने नेतृत्व सतप्रतिशत असफल हो र यस्तो नेतृत्वले देशको सार्वभौमिकतालाई जोगाउनै सक्दैन । देशमा यति ठूलो र ध्वंसात्मक आन्दोलन हुँदै गर्दा त्यसलाई कुन–कुन शक्तिले कसरी कसरी सहयोग उपलब्ध गराइरहेका हुन सक्छन् भनेर थाहा नपाउनुजस्तो हुस्सुपना अरू केही हुनै सक्दैन । आफ्नो देश र आफैले नेतृत्व गरिरहेको सरकारविरुद्ध को–को लागिरहेका छन् भन्ने कुराको कुनै सुइँकोसम्म नपाउनले देशको नेतृत्व गर्न सक्दैनन् । योभन्दा धेरै कति भन्नु ?
जेनजी आन्दोलन सफल भयो किनभने त्यसले पुरानो सत्तालाई उखेलेर फ्याँकिदियो र नयाँ सत्ताको स्थापना भएको छ । नयाँ सत्ताले जेनजीको आकांक्षालाई पक्डिएर अघि बढ्ला कि, यथास्थितिमा रहला कि वा त्यो प्रतिक्रान्तिमा परिणत होला, समयक्रममा भोगि नै हालिनेछ । आमूल परिवर्तन ल्याएमा देश र जनताको निम्ति राम्रै हुनेछ । तर यदि त्यो प्रतिक्रान्तिमा पतन हुन गयो भने नेपाली जनताले थप दुःख पाउनुको विकल्प रहने छैन । देशलाई प्रतिक्रान्तिमा पतन हुन नदिन र यथास्थितिबाट माथि उठाएर अघि बढ्नको लागि जेनजीको भावनासँग एकाकार भएर अघि बढ्न सक्ने नेतृत्व चाहिन्छ । नविन सोंच भएको, आधुनिक प्रविधिलाई राम्रोसँग बुझेको, नैतिक बल भएको, समाज, देश र विश्वलाई राम्रोसँग बुझ्न सक्ने क्षमता भएको, कुनै दम्भ नपालेको र जनताले पत्याउने नेताहरूको यो देशलाई आवश्यकता छ । दम्भी, छुद्र, मैमत्त, जनतालाई नगन्ने, नेपो बेबी संस्कृतिका वाहकहरूको कुनै जरुरत छैन । नयाँ मानिसले भन्न आँट गर्नुपर्छ ‘कमरेड, सिंहासन खाली गर्नुस्, तपाईंहरूबाट पार लाग्दैन, आराम गर्नुस्, तपाईंको सुरक्षा गर्ने जिम्मा हामी लिनेछौं ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)