देवीलाई थुनाउने कुसुमका कर्मचारी पक्राउ
प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ठगी,आपराधिक विश्वासघात,आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रभु म्यानेजमेण्टका पूर्व सेयरधनी उनी हाल सहायक लेखा प्रमुखको जिम्मेवारीमा छन् । ठाकुरप्रसाद मानन्धरलगायतले दायर गरेको जाहेरीका आधारमा भइरहेको अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्टको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट पटक–पटक नौ लाख ९९ हजार ५ सय रुपैयाँको दरले रकम जम्मा हुनुलाई शंकाको रुपमा लिइएको छ ।
रेमिट कारोबारमा भुक्तानी मात्र गर्नुपर्नेमा,एकै दिन पटक–पटक ठूलो रकम जम्मा भएको र प्रभु म्यानेजमेण्टको नाममा सिटिजन्समा सञ्चालन भएको खातामार्फत हुण्डीमार्फत अवैध रकम नेपाल भित्र्याएर मिलान गरेको प्रमाण प्रहरीले फेला पारेको छ । उक्त अवैध कारोबारमा संलग्नमध्ये एक रहेका ५१ वर्षे हेमकुमार महाजु पनौतीका स्थानीय वासिन्दा हुन् ।
ललितपुर गोदावरी–३, टौखेल बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हिजो टौखेलबाट पक्राउ गरेको हो । महाजुबाट भएका ठगी र वित्तीय अपराधसम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
उक्त म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले गत महिना प्रभु बैंकका पूर्व अध्यक्ष तथा विघटित प्रतिनिधि सभामा एमाले सांसद देवी भट्टचनलाई पक्रन लगाएकी थिइन् । यसअघि उनी पक्राउ पर्ने डरले भागेर मलेसिया पुगेपछि उतै बस्दै आएकी थिइन् । जेन जी विध्वंशपछि नेपाल आएर प्रभु म्यानेजमेन्टको वित्तीय अपचलनमा देवीको संलग्नता रहेको आरोप लगाउँदै विभिन्न निकायमा उजुर गरेकी थिइन् ।

टिप्पणीहरू