रविमाथिको अभियोग संशोधनबारे बहस जारी

रविमाथिको अभियोग संशोधनबारे बहस जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णय रोक्ने वा नरोक्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश अब्दुलअजिज मुसलमानको ९ नम्बर इजलासमा परेको उक्त रिटमाथि सुनुवाइ भइरहेको छ। 

महान्यायाधिवक्ताको मुद्दा संशोधनसम्बन्धी निर्णय उल्ट्याउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ताहरु युवराज पौडेल सफल र आयुष भण्डारीले रिट दायर गरेका हुन्। महान्यायाधिवक्ता बरालले गत पुस ३० गते काठमाडौं, कास्की, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर भएका मुद्दामा अभियोग दाबी कायम नरहने गरी संशोधन गर्ने निर्णय गरेकी थिइन्।

उनले फौजदारी कार्यविधि संहिता, दफा ३६ को आधारमा अभियोगपत्र संशोधनको निर्णय गरेको बताइएको छ। तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन वा फिर्ता लिँदा हजारौँ पीडित बचतकर्ताको न्याय खोसिने जिकिर रिटमा गरिएको छ। 

उक्त मुद्दाभन्दा पछाडिका अन्य तीन मुद्दा हेर्न नभ्याइनेमा राखिएकाले रिटमाथि आजै प्रारम्भिक निर्णय आउने सम्भावना छ ।

टिप्पणीहरू