प्रहरी परिसरमा दुर्गा प्रसाईंको मेडिकल जाँच गरिँदै
फाइल फोटो
हिजो पोखरामा पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न लागिएको छ । राति नै काठमाडौं ल्याइएका उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंबाट सरकारी वकिलको कार्यालय माइतीघर पुर्याइएको छ ।
त्यहाँ कानुनी प्रक्रिया र प्रमाणित गरेपछि हाजिर जमानीमा छाड्ने प्रक्रिया शुरु हुने बताइएको छ । सरकारी वकिलको कार्यालयबाट परिसर पुर्याएर मेडिकल जाँच गरेपछि मात्रै उनी जमानीमा छुट्ने छन् ।
केही दिनअघि भक्तपुरस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका उनलाई प्रहरीको साइबर ब्युरोले हिजो दिउँसो पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको थियो । उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको समूहले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस खुवाएर आधिकारिकता पाएको दाबी गरेका थिए ।
पत्रकार सम्मेलनमा पैसाले भरिएको बोराको भिडियो देखाउँदै उनले भनेका थिए, ‘गगन थापाहरूले त्यत्तिकै रुख चिन्ह आफ्नो बनाएका होइनन्, त्यहाँ पूरै ५२ करोडको खेल छ।’
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रसाईंले असन्तुलित अभिव्यक्ति दिएर चुनावी माहोल बिथोल्ने प्रयास गरेको निष्कर्ष सुरक्षा निकायले निकालेपछि उनी पक्राउ परेका हुन् । त्यसअघि निर्वाचन आयोगले पनि प्रसाईंको अभिव्यक्ति चुनाव बिथोल्ने अभिप्रायले बाहिर आएको भन्दै कारबाहीका लागि गृह प्रशासनलाई आग्रह गरेको थियो ।
टिप्पणीहरू