अरु माइतीघरमा, मिराज बनेपामा
फाइल फाेटाे
पूर्व अयोग्य लडाकू लेनिन विष्टले प्रतिनिधिसभा सदस्यको लागि काभ्रे क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
लेनिनको उम्मेद्वारी दर्ता गर्न निर्वाचन बहिष्कार गर्दै आएका जेनजी अभियनता मिराज ढुंगाना पनि निर्वाचन अधिकृतको कार्यालय पुगेको बुझिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसँग चार बुँदे सहमति गरेका ढुंगानाले माइतीघरमा युवा बोलाएर आफू भने बनेपा गएको एक जेनजी अभियन्ताले जानकारी दिए । उनका अनुसार आज माइतीघरमा निर्वाचनविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम थियो । ‘हामीलाई माइतीघरमा बोलाएर आफू चाहिँ अर्काको उम्मेद्वारी दर्ता प्रक्रियामा सहभागी हुन जानुभएछ’, ती अभियन्ताले भने, ‘आफै निर्वाचन बहिष्कार गर्ने, अनि आफै निर्वाचन अधिकृतको कार्यालय जाने पनि कहीँ हुन्छ ?’
०७९ को निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटा निर्वाचित भएका थिए । तर यसपटक अशोक व्याञ्जुलाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, त्यहाँ नेपाली कांग्रेसबाट मधु आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले मनोनयन दर्ता गराइसकेका छन् ।
टिप्पणीहरू