चुनावलगत्तै फिर्ता गर्ने शर्तमा हतियार बुझाउन सूचना

चुनावलगत्तै फिर्ता गर्ने शर्तमा हतियार बुझाउन सूचना

प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयहरूले हातहतियार बुझाउन सूचना निकाल्न थालेका छन् । 

चुनावमा शान्ति, सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा राखिएका इजाजत प्राप्त हातहतियार बुझाउन भनिएको हो । जिल्ला प्रशासन कार्यालय चितवन र बैतडीले छुट्टाछुट्टै सूचना जारी गर्दै आगामी पन्ध्र दिनभित्र त्यस्ता हातहतियार फिर्ता गर्न निर्देशन दिएका छन् । 

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सुसम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाभित्र व्यक्तिगत रुपमा राखिएका इजाजत प्राप्त हातहतियार यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनुहुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । 

तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ । साथै, बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ ।
 

टिप्पणीहरू