‘चिकेन नेक’, चिनियाँ राजदूत र भारतीय चिन्ता
बंगलादेशका लागि चिनियाँ राजदूत हालै बंगलादेशको उत्तरी भेग गएकोमा भारतबाट चिन्ता व्यक्त गरिएको छ । टिस्टा नदी परियोजना क्षेत्रमा भएको राजदूतको स्थलगत भ्रमणले नयाँ भूराजनीतिक तरंग नै पैदा गराएको भारतीय सञ्चारमाध्यमको ठहर छ ।
भारतको उत्तर–पूर्वी राज्यहरूलाई मुख्य भूमिसँग जोड्ने नेपाल र बंगलादेशबीचको मुश्किलले २२ किलोमिटर चौडा सिलिगुडी करिडोर (चिकेन नेक) नजिकै बंगलादेशी सीमाभित्रैको भूमिमा भएको भ्रमणलाई लिएर ठूलो चर्चा गरिएको छ । उक्त करिडोर नजिकै चिनियाँ राजदूत जानुलाई नयाँ दिल्लीले भारत–बंगलादेश सम्बन्ध थप चिसिएको अर्थ लगाएको छ ।

बंगलादेशी अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुस स्वयं चिनियाँ राजदूतसँगै टिस्टा नदी क्षेत्र पुगेका थिए । बंगलादेश सरकारले उक्त भ्रमण टिस्टा नदी व्यवस्थापन तथा पुनर्स्थापना परियोजनासम्बन्धी प्रारम्भिक अध्ययनका लागि गरेको हो । तर भारतले यसलाई विकास परियोजनाका रूपमा मात्र हेर्न नमिल्ने भनेको छ ।
भारतीय सुरक्षा अधिकारीहरुलाई ‘चिकेन नेक’ क्षेत्रमा हुने गतिविधिले भारतको सैन्य आवागमन र रसद आपूर्तिमा असर पार्नसक्ने आशंका छ । बंगलादेशले भने यो भ्रमणलाई सार्वभौम निर्णय भन्दै आएको छ। परियोजना निर्माण शुरु नभएको र सबै निर्णय ढाकाकै नियन्त्रणमा रहने दावी गरिएको छ ।
टिप्पणीहरू