बालेन बाहिरिएलगत्तै भवन निर्माण रोक्का फुकुवा
काठमाडौं उपत्यकाका बागमती र सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर छोड्नुपर्ने फैसला उल्टिएसँगै काठमाडौं महानगरपालिकाले त्यस्ता ठाउँमा रोकेको भवन निर्माण अनुमति फुकुवा गरेको छ ।
महानगरले आज सूचना जारी गर्दै प्रचलित मापदण्डबाहेक थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति दिने वा रोक्का निर्माण कार्य फुकुवा गरिएको जानकारी गराएको छ ।
०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले खोला नदी किनार आसपास कुनै पनि संरचना बनाउँदा २० मिटर अनिवार्य छोड्नुपर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले ०८० पुस ३ गते त्यसलाई यथावत् राख्दै बागमती र यसका सहायक नदीमा अर्को थप २० मिटर छोड्नुपर्ने फैसला सुनाएको थियो ।
त्यसविरुद्ध सरकारद्धारा गरिएको पुनरावलोकनमा सर्वोच्चले गत माघ ४ गते आफ्नै फैसला उल्टाएको हो । उक्त फैसला कानून र न्यायको रोहमा नमिलेको ठहरसहित सर्वोच्चले ०६५ मंसिर १ गतेको क्याबिनेट निर्णय यथावत् राख्दै ०८० पुस ३ गतेको फैसला बदर गरिदिएको छ ।
सोहीबमोजिम महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतको यही आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने सम्बद्ध सरोकारवालामा यो सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ ।’
टिप्पणीहरू